नेपाल र भारतबीच सीमामा आवागमन बन्द गर्ने सहमति
सुदूरपश्चिम । आसन्न स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी कैलालीको गोदावरीमा आज भएको ‘नेपाल–भारत सीमा समन्वय बैठक’मा निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघिदेखि सीमानाकामा आवागमन बन्द गर्ने सहमति भएको छ ।
अत्यावश्यक सेवाबाहेक निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघिदेखि सीमानाकामा आवागमन बन्द गरी सीमा सुरक्षा चुस्त बनाउने सहमति भएको नेपालको तर्फबाट बैठकको नेतृत्व गर्नुभएका कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
“खुला सीमानाकाबाट भइरहेको अपराध न्यूनीकरण र चुनावको दिनभन्दा ४८ घण्टा अघिदेखि सीमा बन्द गर्ने सहमति भएको छ”, प्रमुख जिल्ला अधिकारी थापाले भने, “त्यसमा अत्यावश्यक सेवाका लागि भने आउजाउ गर्न पाइनेछ ।”
लखिमपुर (खिरी) जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार सिंहले नेपालमा हुन लागेको स्थानीय चुनावलाई निष्पक्ष र पारदर्शी बनाउन आफूहरू पूर्ण सहयोग गर्न तयार रहेको बैठकपछि सञ्चारकर्मीलाई बताए ।
बैठकमा अवैध चोरी, तस्करी रोकथाम, अवाञ्छित र आपराधिक गतिविधि हुन नदिनका लागि दुवै पक्षको प्रहरी गस्ती गर्ने, दशगजा अतिक्रमण रोकथाम गर्ने, वन र वन्यजन्तुको चोरी शिकारी रोकथाम गर्ने, सीमाको आपसी समस्या समाधानमा सूचना आदान–प्रदान गर्ने लगायतका विषयमा सहमति भएको छ ।
बैठकमा नेपाली पक्षले सीमापारिबाट हुने गरेको लागुऔषधको कारोबार रोकथाममा कडाइ गर्नुपर्ने, गाई–भैँसी चरिचरनका लागि सीमापारि पुग्ने नेपालीलाई अनावश्यक दुःख दिने र जोरजबर्जस्ती गर्ने गरिएको, निर्माणाधीन हुलाकी राजमार्गको कञ्चनपुर खण्डमा भारतीय पक्षबाट बाधा अवरोध पुग्ने गरेको, मालसामान आयात गर्दा भारतीय भन्सार नाकामा मालसामानलाई समयमै भित्रिन नदिने गरिएको जस्ता विषय उठाएको थियो ।
भारतीय पक्षबाट सीमाका हराएका सीमास्तम्भको पुनःनिर्माण, दशगजा अतिक्रमण रोकथाम, कैलालीको भन्सारको बाटो हुँदै नेपाल भित्रिने भारतीय पर्यटकलाई दोहोरो भन्सार शुल्क लिने गरिएको जस्ता विषय उठाइएको थियो ।
बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी थापा, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रशाद पाण्डेयसहित दुवै जिल्लाका सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख, भन्सार, वन, हुलाकी राजमार्ग आयोजनाका प्रमुखलगायत सहभागी थिए । भारतीय पक्षबाट लखिमपुर (खिरी) जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (एडिएम) सिंहसहित सीमा सुरक्षा बल (एसएसबी), प्रहरी र विभिन्न निकायका अधिकारी सहभागी थिए ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया