प्रमुखमा रहेका तीन महिला उम्मेदवार नै पराजित

वालिङ । स्याङ्जामा तीन पालिका प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित भएकी छन् । एघार पालिकामध्ये स्याङ्जाको पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका हुन् ।
पुतलीबजार नगरपालिकाको प्रमुखमा पुनः सीमाकुमारी क्षेत्री, अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा चीनमाया गुरुङ र कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा माया रानाले उम्मेदवारी दिएका थिए ।
नेकपा एमालेबाट पुतलीबजार नगर प्रमुखमा उम्मेदवारी दिएकी क्षेत्री यसअघि नगर प्रमुख थिइन। वि.स २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका तुल्सीराम रेग्मीलाई पराजित गरेकी क्षेत्री अहिले रेग्मीबाट नै पराजित भएकी हुन् ।
नेपाली कांग्रेसकातर्फबाट उम्मेदवार बनेका रेग्मी १२ हजार ४९४ मत पाएर पुतलीबजारको नगर प्रमुखमा निर्वाचित भएका हुन भने पराजित भएकी क्षेत्रीले १० हजार ९० मत प्राप्त गरेकी छन्। त्यस्तै अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएकी गुरुङ नेपाली कांग्रेसका प्रकाश तिवारीसित पराजित भएकी हुन ।
गाउँपालिकाको अध्यक्षमा विजयी तिवारीले पाँच हजार २९१ मत ल्याउँदा उनकी प्रतिस्पर्धी गुरुङले तीन हजार ३४७ मत ल्याइन । गुरुङ २०७४ मा गाउँपालिकाको उपाध्यक्षमा विजयी भएकी थिइन । त्यस्तैगरी कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकातर्फबाट उम्मेदवारी दिएकी राना एमालेका उम्मेदवार खिमबहादुर थापासित पराजित भएकी छन ।
अध्यक्षमा विजयी भएका थापा ६ हजार ७०० मत ल्याएर विजयी हुँदै गर्दा राना पाँच हजार ५५ मत ल्याएर पराजित भएकी हुन । वि.स २०७४ को निर्वाचनमा थापा गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए। यो उनको दोस्रो कार्यकाल हो ।
यसअघिको निर्वाचनमा स्याङ्जाको पुतलीबजार नगरपालिकामा क्षेत्रीमात्रै एकल महिला उम्मेदवार बनी विजयी भए पनि यसपटक क्षेत्री, गुरुङ र राना तीन जना थिए तर तीनै जना अनुमोदित हुन सकेनन् ।
प्रतिक्रिया