NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

स्थानीय तह निर्वाचन : सुर्खेतमा थालियो सुरक्षा संवेदनशीलताबारे अध्ययन

जिल्ला निर्वाचन व्यवस्थापन समिति सुर्खेतले आसन्न स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा रहने व्यवस्थापन समितिले मतदानस्थलको सुरक्षा संवेदनशीलताको स्तरीकरण गर्नुका साथै निर्वाचन व्यवस्थापनसम्बन्धी कार्य थालेको हो ।

प्रमुख जिल्ला अधिकारी एवं समिति संयोजक खगेन्द्रप्रसाद रिजालले मतदानस्थलको भौगोलिक अवस्थाको विश्लेषण, सुरक्षा संवेदनशीलता, जनशक्ति व्यवस्थापनलगायतका विषयमा अध्ययन भइसकेको बताए ।

उनका अनुसार सुरक्षाका दृष्टिकोणले सुर्खेतका २९ मतदानस्थल अति संवेदनशील, ७६ संवेदनशील र ३३ मतदानस्थललाई सामान्य मानिएको छ ।

सुरक्षा संवेदनशीलताका आधारमा निर्वाचन सुरक्षा रणनीति अपनाइने उनको भनाइ छ ।

‘मतदानस्थलको स्थलगत अवलोकन गरिसकेका छौँ, सुरक्षा संवेदनशीलताका आधारमा स्तरीकरण गरी केन्द्रमा प्रतिवेदन पनि पठाइसकेका छौँ’, प्रजिअ रिजालले भने, ‘स्थानीयस्तरमा निर्वाचन कार्यालय खोल्ने विषयमा स्थानीय तहका प्रमुख/उपप्रमुखसँग समन्वय भइरहेको छ, छिट्टै स्थानीय तहका केन्द्रमा निर्वाचन कार्यालय स्थापना गरिनेछ ।’

सुर्खेतमा नौ स्थानीय तह छन् । तीमध्ये आठ स्थानीय तहका केन्द्रमा निर्वाचन कार्यालय स्थापना गरिनेछ । जसले स्थानीय तहको निर्वाचन तयारीदेखि सम्पन्न गर्न सहज हुने विश्वास गरिएको छ ।

२०७४ सालको निर्वाचनमा सुर्खेतका १३८ स्थलमा २७६ मतदान केन्द्र थिए । जिल्ला निर्वाचन व्यवस्थापन समितिले यसपटक केन्द्र थपिन सक्ने सम्भावना रहेको जनाएको छ । यसपटक सुर्खेतमा २२ हजार बढी मतदाता थपिएका छन् । २०७४ सालमा दुई लाख १८ हजार मतदाता थिए ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले निर्वाचन आयोगले सार्वजनिक गरेको स्थानीय तह निर्वाचनको कार्यतालिका बमोजिम निर्वाचनको तयारी अघि बढाइएको बताए ।

कार्यालयले सुर्खेतको निर्वाचन व्यवस्थापनका साथै कर्णाली प्रदेशको निर्वाचनको समन्वय गर्नेछ । फागुन १९ गते सबै वडामा मतदाता नामावलीको विवरण पठाइने, त्रुटि सच्याउनुपर्ने भए सच्याउन सकिने र चैत १३ गते मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ताको समय तोकेको छ ।

यसैबीच, प्रदेश निर्वाचन कार्यालयले छैँटौँ निर्वाचन दिवसका अवसरमा शुक्रबार आचारसंहिता र निर्वाचन व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरेको छ ।

२०१५ साल फागुन ७ गते मुलुकमा पहिलो आमनिर्वाचन भएको थियो । निर्वाचन आयोगले २०७३ सालदेखि हरेक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो । यस वर्ष ‘निर्वाचनमाः सबै, सधैँ, सँगै’ नारा तय गरिएको छ ।