NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते
स्थानीय तह निर्वाचन

जनकपुरमा सत्तासाझेदार दलमा आकांक्षीको मारामार, लोसपा र एमालेबाट सिफारिस

काठमाडौं । मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरको मेयर का लागि व्यवसायीदेखि सांसदसम्म उम्मेदवार बन्ने लबिङमा लागेका छन् । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै जनकपुरमा पनि उम्मेदवारको चर्चा सुरु भएको छ । उपमहानगरमा जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), एमाले, कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको प्रभाव देखिन्छ । त्यसैले यहाँ बहुपक्षीय प्रतिस्पर्धाको सम्भावना छ । यिनै दलबाट उम्मेदवारीका लागि आकांक्षीको लर्को देखिन्छ ।

लोसपाबाट पाँचजना दाबेदार

यो उपमहानगरमा यसअघि महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)ले जितेको थियो । ठाकुरले अहिले लोसपा बनाएका छन् । राजपाबाट जितेका मेयर लालकिशोर साह भने अहिले जनता समाजवादी पार्टीतिर लागेका छन् । पहिले चुनाव जितेका मेयरले नै पार्टी छोडेपछि लोसपाले जनकपुरधाम उपमहानगरको मेयरका लागि अन्य उम्मेदवार अघि सार्ने तयारी गरेको छ । त्यसैअनुसार लोसपा नगर समिति बैठकले पाँच–पाँचजना मेयर र उपमेयरको नाम केन्द्रमा गरेको छ ।

मेयरमा सिफारिसमा परेकामा मधेस प्रदेश सभा सदस्य परमेश्वर साह, उपमहानगर– ७ का वडाध्यक्ष जानकारीराम साह, नगर अध्यक्ष एवं बस व्यवसायी मनोज चौधरी, मन्दिरका महन्त अमर पञ्जियार र सञ्जय चौधरी छन् ।

मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरको मेयरका लागि व्यवसायीदेखि सांसदसम्मले रुचि देखाएका छन् । एमाले र लोसपाले उम्मेदवार सिफारिस गरिसकेका भए पनि सत्तागठबन्धनलाई भने सकस परेको छ

यस्तै, उपमेयरमा अहिलेकी उपमेयर रिता मिश्रासहित विभा ठाकुर, विभा पाण्डे, पुनम झा मैथिल र पुनम साहको नाम सिफारिस भएको छ । मेयर र उममेयरमा सर्वसम्मत नभएपछि पाँच–पाँचजनाको नाम सिफारिस गरिएको हो । प्रदेश सांसदले चुनाव लड्ने सम्भावना बढेसँगै लोसपा कार्यकर्ता उत्साहित छन् ।

मधेस प्रदेश सभा सदस्य परमेश्वरले पार्टीले निर्णय गरेको खण्डमा आफू चुनाव लड्न तयार रहेको बताएका छन् । पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तयार रहेको साहले बताएका छन् । तत्कालीन राजपाले यसअघिको निर्वाचनमा मेयर, उपमेयरसहित २५ मध्ये १२ वटा वडामा अध्यक्ष जितेको थियो ।

जसपाबाट तीनजना आकांक्षी

जनता समाजवादी पार्टीबाट अहिलेका मेयर साहसहित तीनजना आकांक्षी देखिएका छन् । तर, पार्टी परिवर्तन गरेर आएका कारण लालकिशोरको सम्भावना बलियो देखिएको छ । उनी फेरि उम्मेदवार बन्ने लबिङमा लागेका छन् । ‘स्वाभाविक रूपमा मेयरका लागि मेरो दाबी रहन्छ,’ उनले भने । त्यस्तै, जसपाका नेता विष्णुदेव साह र बजरंग यादवले पनि मेयरका लागि दाबी गरेका छन् । जसपाले मेयर साहलाई फेरि पनि टिकट दिने भनेरै लोसपामा जान रोकेको जनकपुरमा चर्चा हुने गरेको छ । त्यसैले उनकै सम्भावना बढी रहेको बताइन्छ ।

एमालेबाट शिवशंकर सर्वसम्मत

एमालेले जनकपुरधाम उपमहानगरको मेयर मा शिवशंकर साह (हिरा)को नाम सिफारिस गरेको छ । एमालेको मधेस प्रदेश कमिटी सदस्यसमेत रहेका साहलाई मेयर पदका लागि सर्वसम्मतले सिफारिस गरिएको हो । उनी जनकपुर उद्योग वाणिज्य संघ र मधेस प्रदेश उद्योग वाण्ज्यि संघको अध्यक्षसमेत रहिसकेका छन् । एमालेबाट एउटा मात्रै सिफारिस भएकाले टिकट उनले नै पाउने निश्चित भएको छ ।

०७४ सालको स्थानीय निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट पनि मेयर पदका लागि दाबेदार रहेका उनी अन्तिममा पछि हटेका थिए । एक वर्षअघि एमाले प्रवेश गरेका साह हाल पार्टी सचिव रघुवीर महासेठका विश्वासपात्र मानिन्छन् ।

०७४ को स्थानीय तह निर्वाचनमा जनकपुरको मेयरमा एमालेबाट उठेका लक्ष्मीनारायण पाठक पार्टी विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सक्रिय छन् । जनाधारको हिसाबले एमाले जनकपुरधाममा चौथो स्थानमा छ ।

कांग्रेसबाट तीनजना दाबेदार

यसअघिको मतका आधारमा जनकपुरमा कांग्रेस दोस्रो ठूलो शक्ति हो । तर, पहिलो शक्ति विभाजित भएकाले कांग्रेस नै सबैभन्दा बलियो मानिन्छ । कांग्रेसबाट जनकपुरधाम उपमहानगरको मेयर मा तीनजना दाबेदार देखिएका छन् । पूर्वमेयर बजरंगप्रसाद साह, राकेशविक्रम साह र मनोजकुमार साह सुडीले दाबी गरेका छन् । राकेशविक्रम कांग्रेसका नगर उपसभापति हुन् । त्यस्तै, मनोज गत निर्वाचनमा कांग्रेसबाट मेयरका उम्मेदवार थिए । उनी त्यतिबेला ११ हजार १ सय ६४ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बनेका थिए । ‘गत निर्वाचनको निकटतम प्रतिद्वन्द्वी रहेकाले यसपटक फेरि मेयरका लागि उम्मेदवारी दिने तयारी गरिरहेको छु,’ उनले भने, ‘तर, पार्टीले गर्ने निर्णय मेरा लागि सर्वोपरि हुन्छ ।’

अन्य दलबाट को ?

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि जनकपुरको मेयरमा उम्मेदवारी दिने तयारी गरिरहेको छ । एकीकृत समाजवादीबाट डा. अजय झाको नाम उम्मेदवारका रूपमा चर्चामा छ ।

०७४ मा प्राप्त मतपरिणामअनुसार माओवादी केन्द्र पाँचौँ ठूलो दल हो । तर, यसपटकको निर्वाचनमा अहिलेसम्म माओवादी र सिके राउत नेतृत्वको जनमत पार्टीमा भने उम्मेदवारको खासै चर्चा सुरु भएको छैन । यी दलले उम्मेदवार उतार्छन् या कुनै दललाई समर्थन गर्छन् भन्ने हेर्न बाँकी छ ।

गठबन्धन बने उम्मेदवार परिवर्तन हुने

सत्ताघटक दलहरू जनकपुरमा गठबन्धन गर्ने प्रयासमा छन् । तर, जसपा र कांग्रेसले मेयरमा अडान राखेका कारण सहमति हुन सकेको छैन । विगतमा मधेस आन्दोलनको जस्तो सेन्टिमेन्ट नभएको र पटक–पटक पार्टी फुटिरहने गरेकाले यसपटक मधेसकेन्द्रित दलको भोट घट्न सक्ने कांग्रेसको आकलन छ ।

गठबन्धन बन्दा कांग्रेसले जनकपुरधाम उपमहानगरको मेयर पाए जसपाले उपमेयर र जसपाले मेयर पाए कांग्रेसले उपमेयर पाउन सक्नेछन् । त्यसो हुँदा उम्मेदवार पनि परिवर्तन हुनेछन् । कांग्रेसले मेयर नछाडे हालका मेयरले या त छाड्नुपर्नेछ या त गठबन्धन नगरी उम्मेदवारी दिनुपर्नेछ । हालसम्मको अवस्थामा जसपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको मात्रै गठबन्धन बन्ने सम्भावना छ । यता लोसपा र एमालेले पनि गठबन्धनको प्रयास गरिरहेका छन् । त्यसो हुँदा जनकपुरधाममा त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ ।