NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

महानगर र उपमहानगरको उम्मेदवार चयन गर्न कांग्रेस बैठक भोलि, कहाँ कसको सम्भावना बढी ?

काठमाडौं । कांग्रेसले सत्ता गठबन्धनमा आफ्नो भागमा परेका महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार  टुंग्याउन बैठक बाेलाएकाे छ । यसको लागि भोलि दिउसो २ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकिएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठक स्थानीय तहका उम्मेदवार चयन गर्नेसम्बन्धी विषयमा केन्द्रित रहने पौडेलले जनाएका छन् । तर महानगर र उपमहानगरपालिका सत्ता गठबन्धन र एमालेले एक अर्काकाे उम्मेदवार पर्खिरहेका छन् ।

सत्ता गठबन्धन दलबीच भएको सहमतिअनुसार काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर कांग्रेसको भागमा परेको छ । भरतपुर, वीरगञ्ज र पोखराको उमपेयर पनि कांग्रेसले पाएको छ ।

धरान, इटहरी, कलैया, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाको मेयर र जनकपुर, सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिकाको उपमेयर पनि कांग्रेसले पाएको छ ।

कांग्रेस शीर्ष नेतृत्व तहमा पनि भोलि उम्मेदवार टुंग्याउने गरी सहमति जुटेको छ ।

तर गुटगत सन्तुलन मिलाएर धेरै दाबेदारमध्ये महानगरपालिकादेखि उपमहानगरपालिकाको उम्मेदवार छान्नुपर्ने बाध्यतामा कांग्रेस छ ।
कांग्रेसले महानगर र उपमहानगर मेयर र उपमेयर पार्टी केन्द्रबाटै टुंगो लगाउँदै छ ।

कहाँ कसको सम्भावना बढी ?

कांग्रेसले पाएकोमध्ये काठमाडौंमा प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंह मेयरकाे उम्मेदवार बन्ने सम्भावना बढी छ । कांग्रेसबाट काठमाडौं महानगरपालिकाको २५ वडामा जितेका निलकाजी शाक्य पनि अर्का बलिया दाबेदार हुन् । तर सिंहको नाममा सहमति भइसकेको दाबी नेताहरूले गरेका छन् ।

नेता प्रकाशमानको प्रभाव र उनैले तोकेका नेता उम्मेदवार हुने भएकोले पनि सिंहको सम्भावना बढी रहेको बताइन्छ । काठमडौंमा सिंहको नाम पहिले चर्चामा थिएन । तर, पछिल्लो दिनयता उनको नाममा धेरै चर्चा चलिरहेको छ ।

काठमाडौंबाट ५ जना मेयरका लागि प्रस्ताव गरिएका छन् । सिफारिस भएका अन्य तीन जनामा सचिव सुशन वैद्य, उपमेयर हरिप्रभा खड्गी र प्रगतिमान रञ्जित छन् । हरिप्रभाले २०७४ सालमा उपमेयर जित्ने क्रममा कांग्रेसबाट मेयर पराजित भएका राजुराज जोशीले भन्दा १३ हजार बढी मत ल्याएकी थिइन् ।

ललितपुरमा यस अघि मेयर जितेका चिरीबाबु महर्जन नै मेयरका मुख्य दाबेदार हुन् । उनै दोहोरिने सम्भावना धेरै छ । चिरिबाबु नदोहोरिए प्रेमकृष्ण महर्जन अर्का बलिया दाबेदार हुन् । ललितपुरबाट सात नेता मेयरमा सिफारिस गरिएका छन् ।

को–को हुन् ललितपुरको मेयरमा सिफारिस भएका कांग्रेसका ७ नेता ?

नगर कार्यसमितिले मेयर चिरिबाबु महर्जन, उपमेयर गीता सत्याल, प्रेमकृष्ण महर्जन, सुभानन धाख्वा, भरतलाल न्याच्छ्यों, राजेश महर्जन र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिसमा परेका छन् ।

विराटगरमा मेयरका लागि सात नेताको नाम सिफारिस भएको छ । विराटनगरबाट मेयरमा प्रभावशाली नेता डा. संग्रौला, केन्द्रीय सदस्य अमृत अर्याल, मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की, जिल्ला उपाध्यक्ष नागेश कोइराला, महानगर सभापति दीपक चौलागाईं र प्रदेश समिति सदस्य गोपाल रेग्मी सिफारिसमा परेका छन् ।

तर केन्द्रमा राम्रो पहुँच भएकी डिला प्रमुख दाबेदार छिन् । अहिलेसम्म उनले लाभको कुनै पद नपाएकोले पनि यसपटक उनलाई मेयरको उम्मेदवार बनाइने चर्चा छ । संग्रौलाको नाममा सहमति नजुटे मेयर भीम पराजुली वा अमृत अर्यालमध्ये एक जना मेयरको उम्मेदवार हुनेछन् ।

कांग्रेसको बलियो प्रभाव रहेको विराटनगरमा डिला संग्रौला बन्लिन् मेयरको उम्मेदवार ?