NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

मतदानस्थल र केन्द्रको अनुगमन

मोरङ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी मोरङ जिल्लाका संवेदनशील मतदानस्थल तथा केन्द्रको जिल्ला सुरक्षा समितिले अनुगमन गरेको छ ।

पहाडी क्षेत्र तथा नेपाल-भारत सीमासँग जोडिएका पालिकाका संवेदनशील मतदानस्थलमा उक्त समितिले अनुगमन गरेको हो । जिल्लाका कतिपय मतदानस्थल भौगोलिक विकटता तथा सडकको पहुँचभन्दा टाढा रहेकाले त्यस्ता मतदानस्थल संवेदनशील देखिएको सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

मतदान केन्द्रको व्यवस्थापन तथा सहज मतदानका लागी गर्न सकिने उपायका विषयमा जनप्रतिनिधि तथा स्थानीय समुदायसँग सुरक्षा समितिले छलफल गरेको छ । अनुगमनमा प्रमुख जिल्ला अधिकारी दाहालसहित जिल्लास्थित नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको सहभागिता थियो ।

स्थानीय तहका निर्वाचनका लागी विद्यालय तथा वडा कार्यालयलाई मतदानस्थल तोकिएको छ । अनुगमनका क्रममा केही मतदानस्थल सानो एवं साँघुरो रहेकाले त्यसलाई व्यवस्थित गर्न निर्देशन दिइएको छ । मिक्लाजुङ गाउँपालिकासहित केही पालिकाको विकट स्थानमा रहेका मतदानस्थलमा हेलिप्याडको व्यवस्था मिलाइने सुरक्षा समितिले जनाएको छ ।

निर्वाचनका लागि ३०० मतदानस्थल तथा ८२० मतदान केन्द्र तोकिएको छ । प्रजिअ दाहालले आचारसंहिता पालना गराउन राजनीतिक दलहरुको प्रतिबद्धतासहित निर्वाचन निष्पक्ष, स्वतन्त्र एवं भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

सुरक्षा समितिका अनुसार तोकिएको मतदानस्थलमध्ये ४९ वटालाई अतिसंवेदनशील १५५ वटालाई संवेदनशील तथा ९६ वटालाई सामान्य मतदानस्थलको रुपमा लिइएको छ । यसपटकको निर्वाचनमा मोरङमा ७० वटा मतदान केन्द्र थप गरिएको उनले बताए ।

जिल्लामा सात लाख १५ हजार २२३ मतदातामा पुरुष तीन लाख ६३ हजार ४४८, महिला तीन लाख ५१ हजार ७६९, अन्य छ जना छन् । एक लाख ४० हजार नयाँ मतदाता थपिएकामा पुरुष ७१ हजार ९५४, महिला ६८ हजार ७६४ र अन्य छ रहेका छन् ।

जिल्लामा रहेको एक महानगरपालिका, सात नगरपालिका र नौ गाउँपालिकाका मतदाताले आफ्नो मताधिकारको प्रयोग गरी जनप्रतिनिधि निर्वाचित गर्ने भएका छन् ।