कांग्रेस घोषणापत्रको नौलो अभ्यास : आफूले जितेका ठाउँमा नगर्ने कामका ७ प्रतिज्ञामा के–के छन् ?

काठमाडौं । जुनसुकै निर्वाचन आए पनि दलहरूले राम्रा राम्रा कुरा लेखेर बजेट भाषण जस्तै प्रचार गर्दै आएका छन् । तर कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि ल्याएको घोषणापत्र (संकल्प)मा गर्ने कामको साथै नगर्ने कामको पनि प्रतिवद्धता जनाइएको छ ।
महामन्त्री गगन थापा नेतृत्वको समितिले आफूहरूले जित्ने स्थानीय तहमा गर्ने कामको फेहरिस्त नै प्रस्तुत गरेको छ । आफ्नो दलले जितेका ठाउँमा पाँच वर्षमा नगर्ने कामको पनि प्रतिवद्धता जनाएको छ ।
कांग्रेसले जितेका स्थानीय तहमा भ्युटावर नबनाउने, स्वागत गेट नबनाउने, परिवार टिकटकालाई स्वकीय सचिव र कर्मचारी नबनाउने, अनुत्पादक क्षेत्रमा लगानी नगर्ने, प्राकृतिक स्रोत साधनको दुरुपयोग हुन नदिनेसहितका छन् ।
संकल्प प्रस्तावमाथि बोल्दै संयोजक गगन थापाले भ्युटावरको राजनीतिले बदनामी कमाउने भन्दै कांग्रेसले जितेका स्थानीय तहमा भ्युटावर, स्वागत, गेट बनाउने, अनुत्पादक क्षेत्रमा लगानी गर्ने काम बन्द हुने बताए । सचिवालयमा नातेदारलाई नराख्नेदेखि प्राकृतिक स्रोतको दुरुपयोग नगर्नेसहितका विषय अगाडि सारेका हुन् ।
संकल्प प्रस्तावको प्रतिज्ञा खण्डमा कांग्रेसले यो नगर्ने कामको प्रतिवद्धता जनाएको हो । संकल्प प्रस्ताव स्थानीय शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतमा राखिएएको संयोजक थापाले बताए ।
पाँच वर्ष खेर फालिएको भन्दै थापाले खेर फाल्नेले दण्ड पाउनुपर्ने बताए । अबको दशकलाई समुन्नतीको दशक बनाउनुपर्ने बताए । कांग्रेसको घोषणापत्रमा विपद् व्यवस्थापन, जलवायु परिवर्तनको असर जस्ता विषयलाई पनि प्राथमिकतासाथ उठाइएको छ ।
कोखदेखि शोकसम्म भन्दै कांग्रेसले ५ हजार सुत्केरी भत्तादेखि अन्तिम संस्कार खर्चसमेत दिने प्रतिज्ञा जनाएको छ । संघको भन्दा महत्वपूर्ण सरकार स्थानीय भएको भन्दै कांग्रेसले ठूला योजन र आयोजनाको आश्वासन नदिइएको बताएको छ ।
‘स्थानीय तहको निर्वाचन भएकोले हामीले संकल्पमा शिक्षा, स्वास्थ्य, ग्रामीण पूर्वाधार, सामाजिक सुरक्षा, स्थानीय पूर्वाधारलाई जोड दिएका छौं’ एमालेले घोषणापत्रमा लक्षित गरेका प्रचारात्मक ठूला काममा अनावश्यक दाबी गरेको शैलीमा थापाले भने, ‘स्थानीय तहको निर्वाचनमा केन्द्रले गर्ने कामको प्रचार र अनावश्यक हल्ला फैलाउने पक्षमा हामी छैनौं । जनताले प्रत्यक्ष लाभ लिन पाउने र नजिता निस्कने काममा हामी जोडिन चाहन्छौं । हाम्रो कार्यक्रम पनि यसै अनुरुप आएका छन् ।’
यस्ता छन् कांग्रेसले नगर्ने भनी प्रस्ताव गरेका मुख्य सात विषय
पार्टीको नीति र सिद्धान्त, सुशासनका मापदण्ड र जनताप्रतिको उत्तरदायित्वलाई पूर्णरुपमा आत्मसात गर्दै हाम्रा स्थानीय सरकारको नेतृत्व गर्ने प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरूले देहाय बमोजिमका कार्य गर्ने छैनौं भनेर सङ्कल्प गर्नेछन् :
१. जनताको करबाट उठेको राजस्वलाई भ्युटावर, स्वागतद्वार जस्ता अनुत्पादक
क्षेत्रमा लगानी गर्दैनौं,
२. सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत–साधनको दोहन
गर्दैनौ,गर्न दिने छैनौं,
३. कानूनको सीमा भन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा
परेर कुनै पनि निर्णय वा काम गर्दैनौं,
४. नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी
नियुक्त गर्ने छैनौं,
५. निर्दिष्ट योजना र विनियोजित स्रोत सीमा वाहिर गइ अपारदर्शी वा अनुत्तरदायी रुपमा हचुवाका भरमा कुनै पनि
निर्णय वा काम गर्दैनौं, गर्न दिने छैनौं,
६. कानून, आर्थिक तथा वित्तीय उत्तरदायित्व र अनुशासनको उल्लंघन गर्दैनौ,
७. महिला माथी हुने हिंसा, जातीय भेदभाव, लैंगिक विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुरामाप्रत्यक्ष तथा परोक्ष रुपमा समेत कुनै पनि अवस्थामा संलग्न हुने छैनौं,
स्थानीय निर्वाचनका लागि कांग्रेसको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
प्रतिक्रिया