NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

बागलुङमा मनोनयन दर्ता : कतै पञ्चेबाजा, कतै कला–संस्कृति प्रदर्शनी

बागलुङ । बागलुङमा उल्लासमय वातावरणमा मनोनयन दर्ता सकिएको छ । कतै पञ्चेबाजा त कतै स्थानीय कला–संस्कृतिको प्रदर्शन गर्दै बागलुङका राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गरेका हुन् । सोमबार बिहानदेखि सुरु भएको मनोनयन दर्ताको समय साँझ ५ बजे सकिएको भए पनि निर्वाचन अधिकृतको कार्यालय पुगेका सबै उम्मेदवारको दर्ता राति अबेर सकिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले बताए ।

उम्मेदवारहरुको अन्तिम नामावली तयार गर्ने काम चलिरहेको छ । प्राप्त सूचनाअनुसार बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका जनकराज पौडेल र राप्रपाका सञ्जय खड्काले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । बागलुङ नगरपालिकाको निवर्तमान प्रमुख रहेका पौडेलले पदबाट राजीनामा दिएर पुनः प्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराए भने उपप्रमुखमा माओवादी केन्द्रका राजु खड्काले उम्मेदवारी दिए । बागलुङ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस विपीबाट धना आचार्य, विवेकशील साझा पार्टीका तर्फबाट सुरज खड्का, नेपाल दलित पार्टीका तर्फबाट भक्तबहादुर विक र नेकपा मालेका तर्फबाट मञ्जु क्षेत्रीले उम्मेदवारी दिएका छन् ।

जैमिनी नगरपालिकामा एमालेका लीला रानाले प्रमुख र उषा पौडेलले उपप्रमुखमा उम्मेदवारी दिए । गठबन्धनका तर्फबाट नरबहादुर पुनले प्रमुख र हरिहर शर्माले उपप्रमुखमा उम्मेदवारी दर्ता गराए । काठेखोला गाउँपालिकामा एमालेका डिलबहादुर कार्कीले अध्यक्ष र कोपिला पुनले उपाध्यक्षमा उम्मेदवारी दिए । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजु थापाले अध्यक्ष र राजमोका तिलक थापाले उपाध्यक्षमा उम्मेदवारी दिए ।

गलकोट नगरपालिकामा एमालेका तर्फबाट पूर्णबहादुर काउचाले प्रमुख र रुपा विकले उपप्रमुखमा उम्मेदवारी दिएका छन् । गठबन्धनका निर्वतमान नगरप्रमुख भरत शर्मा गैरेले प्रमुखमा, माओवादी केन्द्रका नेता फमलाल न्युरेले उपप्रमुखमा उम्मेदवारी दर्ता गराए ।

बडिगाड गाउँपालिकामा एमालेका युवानेता राजन पाइजाले अध्यक्ष र मीना रायमाझीले उपाध्यक्षमा उम्मेदवारी दिए । गठबन्धनका तर्फबाट कांग्रेस नेत्री गण्डकी थापा अधिकारीले अध्यक्ष र राजमो नेता भीमसेन वनले उपाध्यक्षमा उम्मेदवारी दिए । ढोरपाटन नगरपालिकामा निवर्तमान प्रमुख देवकुमार नेपाली एमालेका तर्फबाट प्रमुख, निर्वतमान उपप्रमुख करमती पुनले उपप्रमुखमा उम्मेदवारी दिनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका चन्द्र अर्यालले प्रमुख र नेपाली कांग्रेसका कल्याण कायतले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

ताराखोला गाउँपालिकामा एमालेका तर्फबाट ऋषिराम रोकाले अध्यक्ष र थममाया घर्तीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका धनबहादुर विक ‘हिमाल’ले अध्यक्ष र नेपाली कांग्रेसका भीमबहादुर रोकाले उपाध्यक्षमा उम्मेदवारी दिए ।
यस्तै, तमानखोला गाउँपालिकामा एमालेका देवेन्द्र छन्त्यालले अध्यक्ष र टेकमाया विकले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जोकलाल बुढा अध्यक्ष र नेकपा एकीकृत समाजवादीका तारानाथ सिर्पालीले उपाध्यक्षमा उम्मेदवारी दिए । बुढा निवर्तमान अध्यक्ष छन् । निसीखोला गाउँपालिकामा एमालेका भूमिराज घर्तीले अध्यक्ष र भेटु चन्दले उपाध्यक्ष तथा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सूर्यमान घर्ती अध्यक्ष र माओवादी केन्द्रका प्रेम घर्तीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराए ।

जिल्लाको बरेङ गाउँपालिकामा एमालेका प्रदीप थापाले अध्यक्ष र दुर्गा कार्कीले उपाध्यक्ष तथा गठबन्धनका तर्फबाट कृष्ण पौडेलले अध्यक्ष र नेपाली कांग्रेसका दिलीप पुनले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

झापाका अधिकांश पालिकामा पुरुष नै उपप्रमुख-उपाध्यक्ष