NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

म्याग्दीमा तीन पालिका प्रमुखमा महिलाको उम्मेदवारी

गलेश्वर । म्याग्दी जिल्लामा आसन्न स्थानीय तह निर्वाचनमा तीन महिलाले पालिका प्रमुखको पदमा उम्मेदवारी दिएका छन् ।

नेकपा (एमाले)का तर्फबाट धवलागिरि गाउँपालिकाको अध्यक्षमा थमसरा पुन, नेकपा (माओवादी केन्द्र)को तर्फबाट रघुगंगा गाउँपालिकामा मीना विक र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बेनी नगरपालिकाको प्रमुखमा मीना कुमारी शर्मा सापकोटाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए ।

धवलागिरि गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिई एमालेको तर्फबाट पुनः अध्यक्ष पदकै उम्मेदवार बन्नुभएकी पुन २०७४ सालको स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखमा निर्वाचित हुने एक्ली महिला थिइन् । माओवादी केन्द्र र राप्रपाले भने नयाँ अनुहारलाई पालिका प्रमुखको उम्मेदवार बनाएको हो ।

अघिल्लो निर्वाचनमा एमालेसँग तालमेल गरी बेनी नगरपालिकाको उपमेयर जितेको राप्रपाले यस पटक आफ्नै पार्टीको चुनाव चिन्ह हलोबाट मेयर र उपमेयर दुइटै पदमा आफ्ना उम्मेदवारलाई उतारेको छ । उपमेयरमा भने पूर्व जिल्ला अध्यक्ष एवं क्षेत्रीय सदस्य एकेन्द्रबहादुर रावललाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, माओवादी केन्द्रले वडाध्यक्षबाट राजीनामा दिएका रिम कटुवाललाई रघुगंगा गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनाएको छ ।