NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

स्याङ्जाका तीन पालिका प्रमुखमा महिलाको उम्मेदवारी

वालिङ । स्याङ्जामा तीन पालिका प्रमुख–अध्यक्षमा महिलाको उम्मेदवारी परेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका ११ पालिकामध्ये पुतलीबजार नगरपालिका, अर्जुनचौपारी र कालीगण्डकी गाउँपालिकाको प्रमुख-अध्यक्षमा महिलाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।

पुतलीबजार नगर प्रमुखमा पुनः सीमाकुमारी क्षेत्री, अर्जुनचौपारी अध्यक्षमा चीनमाया गुरुङ र कालीगण्डकीको अध्यक्षमा माया रानाले उम्मेदवारी दिएकी हुन् ।

नेकपा (एमाले)बाट पुतलीबजार प्रमुखमा उम्मेदवारी दिएकी क्षेत्री यसअघिको निर्वाचनमा पनि नगरप्रमुख थिइन् । अर्जुनचौपारीको अध्यक्षमा उम्मेदवार दिएकी गुरुङ यसअघिको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा विजयी भएकी थिइन् । कालीगण्डकीको अध्यक्षमा उम्मेदवारी दिएकी राना कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।

यसअघिको निर्वाचनमा जिल्लाको पुतलीबजार नगरपालिकामा एमालेबाट क्षेत्रीले उम्मेदवारी दिई विजयी भएकी थिइन् । भने यसपटकको निर्वाचनमा अन्य दुई पालिका प्रमुखमा महिला थपिएका छन् । पालिका उपप्रमुख, वडाध्यक्ष, वडा सदस्यमा पनि महिलाको उत्साहजनक उम्मेदवारी परेको मुख्य निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ । पाँच नगरपालिका र छ गाउँपालिका रहेको जिल्लामा ९७ वडा छन् ।

कूल ५०७ जनाका लागि जिल्लामा तेब्बर बढीको उम्मेदवारी परेको छ । विभिन्न राजनीतिक दलबाट जिल्लामा एक हजार ५४७ जनाको उम्मेदवारी परेको छ । यसमा पालिका प्रमुख–अध्यक्षमा ६७, उपप्रमुख– उपाध्यक्षमा ५०, वडाध्यक्षमा ३५१, खुला सदस्य ५८०, महिला सदस्य २६५ र दलित महिला सदस्य २३४ गरी कूल एक हजार ५४७ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

तनहुँमा प्रमुख पदमा ६ महिला उम्मेदवार