NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

पर्वतमा आचारसंहिता पालनामा कडाइ

पर्वत । पर्वतमा निर्वाचन आचार संहिता पालनामा कडाइ गरिने भएको छ । आचारसंहिता उल्लङ्घनका घटना बढ्न थालेपछि कडाइ गर्न थालिएको हो ।

आचारसंहिता अनुगमन समिति पर्वतको यहाँ बसेको बैठकले आचार संहिता उल्लंघनका मौखिक उजुरी आएपछि कडाइ गर्ने निर्णय गरेको छ । दल तथा स्वतन्त्र उमेदवारले भड्किलो प्रचार शैली अपनाउन थालेपछि यसलाई रोक्न सोमबार देखिनै कडाइ गरिने मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले बताए ।

“उलङ्घनका घटना बढेको भनेर मौखिक उजुरी धेरै आएका छन ”, उनले भने, “उल्लङ्घन हुन नदिन कारवाही गर्ने निर्णय गरेका छौ ।”

पर्वतमा निर्वाचन प्रचारका क्रममा सवारी साधनमा चर्को स्वरमा प्रचारसामाग्री बजाउने, ठू–ठुला बोर्डहरू राख्ने तथा सवारी साधनमासमेत ठूला झण्डा, ब्यानर राखेर प्रचार गर्ने काम भइरहेको छ । सदरमुकाम कुस्माबजारमा उमेदवारले धेरै सवारी साधनमा प्रचारसमाग्री बजाउँदा ध्वनी प्रदुषण र जनजीवनसमेत प्रभावित भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयले आचारसंहित उल्लङ्घनका काम नर्गन भन्दै आइतबार बजार क्षेत्रमा माइकिङ गरेको छ । शुरुमा उल्लङ्घनका घटना नगर्न आग्रह गरिएको र अब त्यसो गरेको पाइएमा प्रहरीले कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी शिवराज बुढाथोकीले बताए ।

आचारसंहिता विपरित प्रयोग भएका सामग्री प्रहरीले नियन्त्रणमा लिने उनले जानकारी दिए ।