NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

आचारसंहिता पालना गराउन सर्वपक्षीय बैठक

बागमती । स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको आव्हनमा सर्वपक्षीय बैठक आज हेटौँडामा सम्पन्न भएको छ । बैठकमा निर्वाचन आचारसंहिता पालना नभएको सम्बन्धमा परेको उजुरी माथि सरोकारवालाबीच छलफल भएको थियो । बैठकमा सहभागी सबै दलका सहभागी प्रतिनिधिले आचारसंहिता पूर्णरुपले पालना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आचारसंहिता विपरीत झण्डा, ब्यानर बोकेर लाउडस्पिकरबाट गीत प्रचारप्रसार सामग्री बजाउँदै हिँडेको पाइएकाले कारबाहीको माग गरिएको छ । बैठकमा सहभागी नेपाल विवेकशील पार्टीका हेटौँडा १७ नम्बरका वडाध्यक्षका उम्मेदवार कृष्णदेव भण्डारीले ठूला दलले नै आचारसंहिता विपरीत काम गरेको आरोप लगाए ।

शिक्षक तथा कर्मचारीले आचारसंहिताको बेवास्ता गरी प्रचारप्रसार गरी हिँडेको र सामाजिक सञ्जालमा उम्मेदवारको पक्षमा भोट माग्ने गरेको र मतदातालाई प्रभावित पार्ने काम गरेको उजुरी परेकाले प्रमाणका आधारमा विभागीय कारबाही अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

यसैबीच मकवानपुरका सहायक निर्वाचन अधिकृत सागर शर्माले हेटौँडाका विभिन्न क्षेत्रका कर्मचारी निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँडेको उजुरी परेकाले उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको जानकरी दिए । उनीहरूको जवाफ प्राप्त भएपछि जिल्ला निर्वाचन अनुगमन समितिमा कारवहीका लागि पठाइने उनले भने ।