NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा

जनकपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि धनुषाका विभिन्न पालिकाका उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा पुगेका छन् ।गाउँ गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन घरदैलो अभियानमा केन्द्रीत उम्मेदवारले प्रचारप्रसारलाई अन्तिम चरणमा पु-याएका छन् ।

मौनअवधि सुरु भएपछि प्रचारप्रसार गर्न नपाउने भन्दै उम्मेदवारलाई मतदाताको घरदैलोमा पुग्ने चटारो छ । आफ्नो पालिकाभित्रका वडा–वडा र घर–घरमा मत माग्न व्यस्त उम्मेदवार मौन अवधि सुरु हुनुपूर्व नै सबै मतदाताको घर–घरमा पुगिसक्ने योजनामा छन् । ‘करिब करिब सबै वडामा घरदैलो सकिएको छ,’ सत्तारुढ गठबन्धनका तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार लालकिशोर साहले भने, ‘बाँकी रहेको केही मतदाताको घरदैलोमा आज साँझसम्म पुग्ने लक्ष्य छ ।’ मौन अवधि सुरु नहुञ्जेलसम्म प्रचारप्रसार जारी रहने उनककाे भनाइ छ ।

यस्तै लोसपाका उम्मेदवार मनोज चौधरीले पनि आफुहरुको घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको बताए । ‘हामीले उपमहानगरपालिकाका करिब सबै वडामा घरदैलो गरिसकेको र बाँकी रहेका वडामा आज बिहानैदेखि घरदैलो गरिरहेका छौं,’ उनले भने, ‘आज साँझसम्म सबै ठाउँमा घरदैलो सकिन्छौँ ।’ विभिन्न दलका उम्मेदवार आफ्नो पार्टीको घोषणापत्र र एजेण्डा बोकेर मतदाताको घर–घरमा पुगिरहेका छन्, भने स्वतन्त्र उम्मेदवार आफ्नो चुनाव चिन्ह अङ्कित झण्डा, ब्यानर र व्यक्तिगत एजेण्डा सुनाउँदै मतदातासँग मत माग्न व्यस्त छन् ।

निर्वाचन कार्यक्रमअन्तर्गत वैशाख २७ गते सोमबार रातिदेखि मौनअवधि सुरु हुने मधेश प्रदेश निर्वाचन कार्यालय धनुषाका प्रमुख श्रीधर पन्थीले जानकारी दिए । एक उपमहानगरपालिका, तीन उपमहानगरपालिकासहित १३६ स्थानीय तह रहेको मधेस प्रदेशमा पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षसहित विभिन्न पदमा करिब ४० हजार ९२४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कूल आठ जिल्ला रहेको मधेस प्रदेशमा ३३ लाख ३१ हजार १७० मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।