NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

मतदानका लागि शीर्ष नेता चितवनमा

चितवन । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरु गृहजिल्ला चितवन पुगिसकेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र रामबहादुर थापा गृहजिल्ला चितवन पुगेका हुन ।

दाहाल बुधबार चितवन गएका हुन । उनको चितवन मतदानका दिनसम्म बस्ने कार्यक्रम रहेको छ । उनको मतदानस्थल भरतपुर महानगरपालिका–१४ मा रहेको नेपाल प्रहरी स्कुल शान्तिपुर रहेको छ ।

सो मतदानस्थलमा दाहाल लगायत एक हजार ६७८ जना मतदाता रहेका छन् । यस्तै एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका–५ स्थित भण्डाराबाट मतदान गर्दै छन् । उनकाे भण्डारा अस्पताल मतदानस्थल रहेको छ। सो मतदानस्थलमा तीन हजार ६५ मतदाता रहेका छन् ।

एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापाले भरतपुर महानगरपालिका–१० बाट मतदान गर्दै छन् । उनले स्थानीय नारायणी नमूना माध्यमिक विद्यालयबाट मतदान गर्ने छन् । सो मतदानस्थलमा भने पाँच हजार ८३६ मतदाता रहेका छन् । एमाले नेताद्वय पाण्डे र थापा निर्वाचनको प्रचारप्रसारमा जिल्लामा गएर बसेका थिए ।

यस्तै भरतपुर महानगरपालिका प्रमुखका उम्मेदवार पाँच दलीय गठबन्धनको रेनु दाहालले आधारभूत विद्यालय सुन्दरबस्ती भरतपुर महानगरपालिका–१४, एमालेको प्रमुखका उम्मेदवार विजय सुवेदीले भरतपुर महानगरपालिका–१२ स्थित मोहन माविबाट मतदान गदै छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने कृष्णपुर माविबाट मतदान दिने छन् । ।