NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

काठमाडौंमा तहल्का पिटिरहेका बालेन एकाएक ललितपुरको मतगणनास्थलमा !

काठमाडौं । काठमाडौं मेयरमा एमाले र कांग्रेसका प्रभावशाली उम्मेदवारलाई पछाडि छोड्दै तहल्का पिटिरहेका बालेन शाह ललितपुर पुगेका छन् । ललितपुरमा मेयरमा पनि उस्तै गरी अग्रता बनाइरहेका चिरिबाबुलाई भेट्न बालेन ललितपुर पुगेका हुन् । बालेनले ललितपुरको जावालाखेलस्थित मतगणनास्थलमा पुगेर फोटो पनि खिचाएका छन् । मेयरमा केशव स्थापितलाइ साढे सात हजार मतले पछि पार्दै बालेन निक्कै अगाडि देखिएका छन् ।

ललितपुरमा पनि कांग्रेसका चिरिबाबुले उस्तै गरी मेयरमा हरिकृष्ण ब्यञ्जनकारलाई पछाडि छोडिरहेका छन् । ललितपुर मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबुले बालेन र आफूले शुभकामना साटासाट गरेको जानकारी दिए ।

‘बालेनजी ललितपुरको मतगणनास्थलमा आउनुभएको छ । हामीबीच साधारण कुराकानी पनि भयो । हामीले एक अर्कालाई जितको शुभकामना आदानप्रदान गर्यौं’ चिरिबाबुले नेपालवाचसँग भने, ‘नेपालमै सबैभन्दा बढीपटक वडाध्यक्ष जित्ने नरसिंह ब्यञ्जनकारको १० नम्बर वडाको भोट काउन्टिङमा बालेनले चासो लिनुभएको छ । अहिले मतगणना स्थलमा मतको अवलोकन गर्दै हुनुहुन्छ ।’

बालेनले राजनीतिक आइकनको रुपमा परिचित ब्यञ्जनकारप्रति चासो दिएको चिरिबाबुले बताए । ब्यञ्जनकारले २०२९ सालदेखि ललितपुर १० मा एकपटक पनि कसैलाई वडाध्यक्ष बन्न दिएका छैनन् ।

पंचायत, बहुदल र गणतन्त्र सबै व्यवस्थामा उनले वडाध्यक्षमा जित्दै आएका छन् । २०७४ सालमा पनि ब्यञ्जनकारले स्वतन्त्रबाट वडाध्यक्ष जितेका थिए ।

त्यतिखेर कांग्रेस उम्मेदवारलाई पराजित गर्ने क्रममा उनले ६९१ मत ल्याएका थिए । पराजित कांग्रेसका कर्मलाल ब्यञ्जनकारले ५९४ मत ल्याएका थिए । ८२ वर्षको उमेरमा यसपटक पनि उम्मेदवारी दिएपछि ब्यञ्जनकारको चर्चा भइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष