NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

म्याग्दीका पालिका र वडामा महिला नेतृत्व शून्य

म्याग्दी । म्याग्दीका गाउँपालिका, नगरपालिका र वडामा महिलाको नेतृत्व शून्य भएको छ । जिल्लाका छवटा स्थानीय तह र ४५ वटा वडाको नेतृत्वमा सबै पुरुष उम्मेदवार निर्वाचित भएका हुन् । प्रमुख र अध्यक्ष पदमा सबै पुरुष निर्वाचित हुँदा उपाध्यक्षमा पाँच महिला र एक पुरुष उम्मेदवार विजयी भएका छन् ।

नगर र गाउँपालिकाको नेतृत्वका लागि तीन र वडाको नेतृत्वका लागि दुई महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । उनीहरु सबै पराजित हुँदा पालिका र वडाको नेतृत्वमा महिलाको उपस्थिति शून्य भएका हुन् । धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) बाट उम्मेदवार बनेकी थमसरा पुन कांग्रेसका प्रेमप्रसाद पुनसँग पराजित भए । नेकपा (माओवादी केन्द्र) बाट रघुगंगा गाउँपालिका अध्यक्षको उम्मेदवार बन्नुभएकी मीना विश्वकर्मा तेस्रो बने ।

राप्रपाबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवार बनेकी मीनाकुमारी शर्मा चौथो बनिन् । मंगला गाउँपालिकाको वडा नं ४ मा एमालेले लक्ष्मीकुमारी बुढाथोकी र माओवादी केन्द्रले मनमाया चोचाङ्गीलाई वडाध्यक्षको उम्मेदवार बनाएका थिए । कांग्रेसका लालबहादुर रोकाले दुुवै जनालाई पराजित गरेर वडाध्यक्षमा निर्वाचित भइन् ।

स्थानीय तहको पहिलो कार्यकालमा धवलागिरिको अध्यक्षमा एमालेका थमसरा पुन, सोही पालिकाको वडा नं ५ मा कांग्रेसका खर्ककुमारी छन्त्याल र मालिका गाउँपालिका-५ को अध्यक्षमा कांग्रेसका पिपला बुढाथोकी वडाध्यक्षमा निर्वाचित भएका थिए । दलहरूले नेतृत्व तहमा महिलालाई अवसर नदिएका कारणले निर्वाचित हुनेको संख्या पनि कम भएको म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीले बताए ।

जिल्लामा नेकपा (एमाले) ले एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, तीन उपाध्यक्ष, २२ वडाध्यक्ष, २१ महिला सदस्य, २३ दलित महिला सदस्य र ४५ खुला सदस्य गरी १८८ पदमा जितेको छ । कांग्रेसले दुई गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, १७ वडाध्यक्ष, १८ महिला सदस्य, १६ दलित महिला सदस्य, ३४ खुला सदस्य गरी कूल ८८ पदमा जितेको छ ।

माओवादी केन्द्रले एक उपप्रमुख, एक उपाध्यक्ष, छ वडाध्यक्ष, छ दलित महिला सदस्य, छ महिला सदस्य र १० खुला सदस्य गरी ३० पदमा जितेको छ । धवलागिरि गाउँपालिका-१ गुर्जाका गुनराम छन्त्याल म्याग्दीमा निर्वाचित हुने एक मात्र स्वतन्त्र उम्मेदवार बनेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष