NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

को हुन् पिएसजीले नियुक्त गरेका नयाँ प्रशिक्षक ?

काठमाडौं । अर्जेन्टिनी मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोलाई बर्खास्त गरेको एक घण्टामै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) नयाँ मुख्य प्रशिक्षक नियुक्त गर्यो ।

पिएसजीले फ्रान्सकै ५५ वर्षीय क्रिस्टोफे गाल्टियरलाई मंगलबार मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

पिएसजीले मंगलबार मौरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै गाल्टियरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । नयाँ प्रशिक्षकले पिएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् ।

यसअघि गाल्टियरले फ्रान्सकै क्लब निसको टोली सम्हालेका थिए । यस्तै उनीसँग मार्सेई, लिल सेन्ट इटिइनेजस्ता नाम चलेका फ्रेन्च क्लबहरू सम्हालेको अनुभव पनि छ । उनले पिएसजीको बर्चश्व तोड्दै लिललाई सन् २०२०–२१ को फ्रेन्च लिग जिताएका थिए ।

साथै, उनले सन् २०१२–१३ मा सेन्ट इटिइनेलाई फ्रेन्च लिग कपको उपाधि दिलाएका थिए ।

गाल्टियरले सन् १९८० मा फ्रेन्च यु–२१ राष्ट्रिय टोलीबाट खेलेका थिए । रक्षापंतिबाट खेल्ने उनले सिनियर राष्ट्रिय टोलीमा भने अवसर पाएनन् ।

पिएसजीमा लियोनल मेसी, नेइमार र केलियन एम्बाप्पेजस्ता विश्वकै सर्वोत्कृष्ट स्टार खेलाडी छन् । गाल्टियरलाई यी तीनै खेलाडीलाई व्यवस्थापन गर्दै च्याम्पियन्स लिग जित्ने चुनौती थपिएको छ ।

यसअघि, फ्रान्स तथा रियल म्याड्रिडका लिजेण्ड जिनेदिन जिदानले पिएसजी सम्हाल्ने हल्ला थियो । तर, अहिले त्यो सम्भव नभएपछि गाल्टियरलाई नयाँ प्रशिक्षक तोकिएको हो ।

पिएसजीका प्रशिक्षक पोचेटिनो बर्खास्त