NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बजेट विनियोजन

दाङ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ४ सय शैयाको बनाउन बजेट विनियोजन भएको र अर्थ मन्त्रालयबाट पत्र आइसकेको बताएका छन् ।

रिपोर्टस् क्लब दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमामा उनले उपत्यकाभन्दा बाहिर सात वटा विशिष्टीकृत अस्पताल बनाउने योजनाअनुसार प्रतिष्ठानलाई पनि त्यसमा जोड्न सफल भएको उल्लेख गरे । निकट भविष्यमा प्रतिष्ठानलाई ६ सय शैयाको बनाउने गरी योजना अघि बढेको उनले जानकारी दिए ।

दाङमा १८ वटा डायलासिस मेसिन ल्याउन सकिएको भन्दै यसको तत्काल जडानको प्रक्रिया अगाडि बढाउने उनले बताए । राज्यमन्त्री केसीले टरिगाउँ विमानस्थलको विकल्प खोज्ने विषय तत्काल आवश्यक नभएको बताए । ‘अहिले विकल्प कहाँ खोज्ने’ उनले भने, ‘बरु भएकैलाई स्तरवृद्धि गरौँ, यसमा म प्रतिबद्ध छु ।’ एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका राज्यमन्त्री केसीले दाङ क्षेत्र नं ३ मा उम्मेदवारका लागि आफ्नो दाबी रहनेसमेत बताए । यसअघि आफू यही क्षेत्रबाट निर्वाचित भएकाले अहिले पनि स्वभाविकरुपमा दाबी रहने उनको भनाइ छ ।