दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा चिसो पेय पदार्थको सेवन अरु समयका तुलनामा बढ्ने गर्छ । अझ दसैँमा त अन्य दिनहरुका तुलनामा कैयौँ गुणा बढी मासु खाने नेपालीहरुको परम्परा नै छ । चाडपर्वमा खानपान र रमाइलोमा ध्यान दिँदा स्वास्थ्यप्रति भने पर्याप्त सचेतना अपनाएको पाइँदैन । चाडबाडका नाममा शरीरलाई चाहिनेभन्दा बढी खानेकुराहरु खाने, शारीरिक सक्रियता र व्यायाम नगर्ने अनि नियमित औषधि सेवनमा समेत ध्यान नदिने कारणले गर्दा यस्तो समयमा मुटुरोगको जोखिम बढ्न सक्छ ।
मुटुरोग विषेशज्ञ चिकित्सकहरु मुटुको स्वास्थ्य जोगाइराख्न सन्तुलित खानपान, नियमित व्यायाम, रक्तचाप, मधुमेह तथा कोलेस्ट्रोलको नियन्त्रण र धूमपान तथा मदिराको सेवनबाट टाढा रहन सुझाइरहेका हुन्छन् । तर त्यसमा नागरिकको ध्यान पुग्छ कि पुग्दैन रु आमनागरिकले चिकित्सकका सल्लाह र सुझावलाई कतिको अनुशरण गर्दछन् ? दसैँको खानपानलाई सुव्यवस्थित र सन्तुलित कसरी बनाउने, यस्तो समयमा मुटुरोगको जोखिम कसरी घटाउने र हृदयाघातका लक्षण देखिएमा के गर्ने भन्ने विषयमा केन्द्रित रहेर वरिष्ठ मुटुरोग विशेषज्ञ डा कमल शर्मा लम्सालसँग प्रगति ढकालले गरेको कुराकानीको सम्पादित अंश :
दसैँलाई नेपालीको ठूलो पर्व मानिन्छ र मीठा परिकार खाने र रमाइलो गर्ने चलन छ । चाडपर्वमा हाम्रो खानपानको मात्रा र शैली नमिल्दा मुटुको स्वास्थ्य बिग्रने खतरा रहन्छ । दसैँको खानपानलाई कसरी व्यवस्थित गर्नुपर्ला ?
हाम्रो स्वास्थ्यसँग दैनिक जीवनशैली, शारीरिक गतिविधि या गतिशीलता, सोचाइ र खानपानको प्रत्यक्ष सम्बन्ध हुन्छ । मुटुको स्वास्थ्यका लागि यी सबै र खानपानको विशेष महत्व छ । धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ ।
यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा बोसोको मात्रा ९कोलेस्ट्रोल० बढ्ने जोखिम बढी मात्रामा निम्त्याउँछ । त्यसमाथि शारीरिक गतिविधि पनि कम भयो भने यससँग जोडिएर आउने अरु विभिन्न कारणले मुटुरोगको जोखिम बढ्छ । त्यसैले चाडपर्वमा पनि सन्तुलित खानपान र सक्रिय जीवनशैली अपनाउनुपर्छ । चाडबाडका नाम र निहुँमा शरीरले नथेग्ने र आवश्यक पनि नपर्नेगरी अत्यधिक खानपान गर्नु हुदैन । अघिपछि जस्तै सन्तुलित र आवश्यक खानामा मात्र ध्यान दिनुपर्दछ ।
दसैँमा चिल्लो पदार्थको मात्रा बढी भएका तथा एउटै तेल पटक–पटक प्रयोग गरेर तारे भुटेका परिकार बढी खाने चलन छ । यस्ता खानाले विशेषगरी मुटुरोगको जोखिम के कस्तो हुन्छ ?
एक–दुई दिन यसरी तारेका या भुटेका चिल्ला परिकार खाँदैमा तत्कालै ठूलो जोखिम हुन्छ भन्ने त होइन । तर नियमित रूपमा यस्ता खानेकुरा खाँदा स्वास्थ्यमा असर पक्कै गर्छ । एउटै तेल पटक–पटक प्रयोग गरेर खाना तार्दा त्यसको गुणस्तर बिग्रन सक्छ र मुटु र त्यो मात्र नभएर शरीरलाई हानि पु¥याउने पदार्थ बन्न सक्दछ ।
त्यसैले यस्ता परिकारहरु कम खानु नै राम्रो हुनेछ । विशेषगरी मधुमेह, उच्च रक्तचाप वा मुटुरोग भएका व्यक्तिहरु त झन यस्ता खानेकुराबाट टाढा रहेकै राम्रो हुन्छ । सकेसम्म कम चिल्लो भएका, उमालेर वा अन्य स्वस्थ तरिकाले पकाइएका परिकार खानु उपयुक्त हुन्छ ।
प्रश्नः हामी नेपालीका पर्वमध्ये दसैँसँग जोडिएर आउनेमा मासु एक हो । दसैँका नाम र निहुँमा अनियन्त्रित रुपमा मासु खाने प्रचलन अद्यापि छ । मुटुको स्वास्थ्यका दृष्टिले कस्तो प्रकारको मासु सेवन गर्नु उपयुक्त होला रु
मासु आफैँमा नराम्रो या अखाद्य पदार्थ होइन । तर यसको सेवन मात्रा र पकाउने तरिकामा ध्यान दिनुपर्छ । सबैभन्दा पहिले त मासु तयार पार्ने या किन्ने ठाउँ सफा हुनु अति आवश्यक छ । यो स्वच्छ र सफा भएन भने यहीँको मासुका कारण खाद्य विषाक्तता, झाडापखाला लगायतको जोखिम रहन्छ ।
त्यसपछि मासु केको भन्ने पनि हुन्छ । जस्तो कि रातो मासुको अत्यधिक सेवनले कोलेस्ट्रोल तथा युरिक एसिड बढ्ने र स्वास्थ्यमा अन्य जोखिम निम्त्याउने सम्भावना हुन्छ । धेरै तेलमा तारिएको मासु तथा अत्यधिक पोलेको मासुको सेवनमा पनि ध्यान दिनु आवश्यक छ । त्यसैले रातो मासुको अत्यधिक सेवन धेरै राम्रो होइन भनेर बुझ्नुपर्दछ ।
मासुको विकल्पमध्ये माछा राम्रो मानिन्छ । त्यसपछि कुखुराको हो । तर माछा खाँदा पनि धेरै तेलमा तारेर खानु हुँदैन । मासुको मात्रा सीमित राख्ने र पकाउने स्वस्थ तरिका अपनाउने गर्नुपर्दछ । त्यसैले म भन्छु, मासु खानुहोस्, दसैँ मनाउनुहोस् तर मुटु भने जोगाउनुहोस् ।
प्रश्नः उमेरअनुसार खानपानमा के कस्तो सावधानी अपनाउनुपर्ला ?
उमेरसँगै स्वास्थ्य अवस्था र रोगको जोखिम पनि फरक हुन्छ । ६०–७० वर्ष उमेरका व्यक्तिमा उच्च रक्तचाप, मुटुरोग वा पाचनसम्बन्धी समस्या हुन सक्छ । त्यस्ता व्यक्तिले आफ्नो स्वास्थ्य अवस्थाअनुसार खानपानमा नियन्त्रण गर्नुपर्छ ।
बालबालिका तथा किशोरकिशोरी शारीरिक रूपमा बढी सक्रिय हुन्छन् । उनीहरूको आवश्यकता फरक हुन सक्छ । तर उमेर जुनसुकै भए पनि आवश्यकताभन्दा बढी खाने बानी राम्रो होइन ।
दसैँमा मासुसँगै मदिरा, चिसो पेय पदार्थ तथा धूमपानको सेवन पनि बढ्ने गरेको छ । मुटुरोग भएका वा जोखिम समूहमा रहेका व्यक्तिले विशेष सावधानी अपनाउनुपर्छ । नियमित औषधि सेवन गरिरहेका व्यक्तिले चाडपर्वका कारण औषधि छुटाउनु हुँदैन ।
प्रश्नः हृदयाघातका प्रमुख लक्षण के–के हुन् रु लक्षण देखिएमा तत्काल के गर्नुपर्छ ?
हृदयाघातका प्रमुख लक्षणमध्ये छातीको बीच भागमा दुख्ने, भारी हुने वा कुनै वस्तुले थिचेजस्तो महसुस हुनु हो । यसबाहेक मुटुको धड्कन बढ्ने, धेरै पसिना आउने, वाकवाकी लाग्ने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने तथा बेहोस हुनेजस्ता लक्षण पनि देखिन सक्छन् ।
सबै व्यक्तिमा एउटै प्रकारका लक्षण नदेखिन सक्छन् । त्यसैले छातीमा असहजता हुने वा हृदयाघातको शङ्का लाग्ने लक्षण देखिएमा त्यसलाई सामान्य ठानेर बस्नु हुँदैन ।
यस्तो अवस्थामा नजिकको अस्पतालको आकस्मिक कक्षमा तत्काल पुग्नुपर्छ । अस्पतालमा प्रारम्भिक रूपमा इलेक्ट्रोकार्डियोग्राम ९इसिजी० र आवश्यक रगत परीक्षण गरी हृदयाघात भए–नभएको जाँच गरिन्छ । त्यसपछि अवस्थाअनुसार उपचार अघि बढाइन्छ ।
प्रश्नः मुटुरोगको जोखिम भएका व्यक्तिका परिवारका सदस्यले के कुरामा ध्यान दिनुपर्छ ?
पहिले नै मुटुरोग भएका, उच्च रक्तचाप वा मधुमेह भएका, कोलेस्ट्रोल बढी भएका, लामो समयदेखि धूमपान गर्ने तथा मोटोपन भएका व्यक्ति मुटुरोगको जोखिममा हुन्छन् । परिवारका सदस्यले यस्ता व्यक्तिलाई छाती दुख्ने, सास फेर्न गाह्रो हुने वा अन्य असामान्य लक्षण देखिएमा तत्काल अस्पताल लैजानुपर्छ भन्ने कुरा बुझ्नुपर्छ । उनीहरूले नियमित सेवन गरिरहेका औषधि छुटाउनु हुँदैन । चाडपर्वका बेला भोजभतेर, रङ्ग रमाइलो बढी हुने भएकाले औषधि छुट्ने सम्भावना बढी हुन्छ । यस्तो बेलामा परिवारका सदस्यहरुले पनि ध्यान दिनुपर्छ । खानपानमा नियन्त्रण र नियमित स्वास्थ्य जाँच परिवारले ध्यान दिने र निगरानी गर्नुपर्ने कुरा हुन् ।
प्रश्नः स्वस्थ व्यक्तिले पनि दसैँमा खानपान नियन्त्रण गर्नुपर्छ कि मुटुरोग भएका व्यक्तिले मात्र सावधानी अपनाए पुग्छ ?
स्वस्थ व्यक्तिले पनि खानपानमा ध्यान दिनुपर्छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो हो भन्ने त सबैले बुझेकै कुरा हो । दसैँ, तिहारलगायत विभिन्न चाडपर्वमा नेपालीले खाने र रमाइलो गर्ने परम्परा छ । यो राम्रो पक्ष हो, तर त्यसलाई अत्यधिक बनाउनुहुँदैन ।
दसैँ धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको पर्व हो । यस समयमा परिवारका सदस्य भेट्ने, आफन्तसँग समय बिताउने, पूजापाठ गर्ने र नयाँ ठाउँमा घुम्न जाने अवसर पनि त मिल्छ । यस्ता गतिविधिले मुटुमात्र होइन समग्र स्वास्थ्यमा नै सकारात्मक प्रभाव पार्दछ ।
त्यसैले दसैँलाई खानपिनमा मात्र केन्द्रित गर्नुहुँदैन । परिवारसँग भेटघाट गर्ने, रमाइलो गर्ने, घुमघाममा जाने, शारीरिक रूपमा सक्रिय रहने अवसरका रूपमा पनि लिनुपर्छ ।
प्रश्नः नियमित हिँडडुल र व्यायामले मुटुको स्वास्थ्यमा कस्तो फाइदा पुर्याउँछ ?
नियमित व्यायामले मुटुको स्वास्थ्य कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ । दिनमा कम्तीमा ३० देखि ४५ मिनेट छिटो छिटो हिँड्ने, दौडिने, पौडी खेल्ने वा आफूलाई अनुकूल हुने शारीरिक गतिविधि गर्नुपर्छ ।
सबैले एकै प्रकारको व्यायाम गर्नुपर्छ भन्ने छैन । कसैले हिँडडुल गर्न सक्छन्, कसैले खेलकुदमा सहभागी हुन सक्छन् भने कसैले खेतीबारीमा पनि काम गर्न सक्छन् । जसरी होस् शरीरलाई चलायमान र जतिसक्दो सक्रिय राख्ने गर्नाले शारीरिक तन्दुरुस्तीका साथै मुटुलाई पनि स्वस्थ राख्न सहयोग पुग्दछ ।
सन्तुलित खानपान, नियमित व्यायाम, तौल नियन्त्रण, रक्तचाप, मधुमेह र कोलेस्ट्रोलको नियमित जाँच तथा नियन्त्रण आवश्यक छ । चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्ने र धूमपान तथा मदिराबाट टाढा रहने हो भने मुटुरोगको जोखिम घटाउन सकिन्छ ।
प्रश्नः पछिल्लो समय कम उमेरमै हृदयाघात हुने गरेका समाचार सुन्ने गरिएको छ । यसका कारणहरु के हुन सक्छ ?
उमेर बढ्दै जाँदा मुटुरोगको जोखिम पनि बढ्छ । तर पहिले ५०–६० वर्षको उमेरमा बढी देखिने हृदयाघात अहिले ३०–३५ वर्षका व्यक्तिमा पनि देखिन थालेको छ । कतिपय २०–२५ वर्षका व्यक्तिमा समेत भएका घटना पनि हाम्रा अभिलेखमा छन् ।
यसमा बजारीया खाना ९जङ्क फुड०को अत्यधिक सेवन, शारीरिक गतिविधिमा कमी, धूमपान र बदलिँदो जीवनशैलीले भूमिका खेलेको हुन सक्छ । सहरी जीवनशैलीमा लामो समय मोबाइल वा कम्प्युटर प्रयोग गर्दै बस्ने र शारीरिक श्रम कम गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ ।
बालबालिकामा पनि जङ्क फुडको सेवन बढ्दै गएको छ । त्यसैले घरपरिवार, स्वास्थ्य संस्था र राज्यका विभिन्न तहबाट स्वस्थ खानपान र सक्रिय जीवनशैलीका बारेमा सचेतना बढाउन आवश्यक छ । अबका दिनमा यस्ता कुरामा राज्य र सम्बद्ध निकाय एवं संस्थाहरुले लगानी बढाउनुपर्ने अवस्था मैले देखेको छु । अन्यथा मुटुरोगको अहिलेको अवस्था झन् बढ्दै गयो भने यसले भोलिका दिनहरु थप भयावह बन्दै जाने खतरा देखिँदै छ ।
अन्त्यमा, मानिसलाई आफ्नो मुटु जोगाउन आम नागरिकलाई के सुझाव दिन चाहनुहुन्छ ?
हामीले स्वास्थ्यका लागि के गर्नुपर्छ भन्ने धेरै कुरा थाहा पाएकै छौँ । नियमित व्यायाम गर्नुपर्छ, धेरै खानु हुँदैन, खानपान नियन्त्रण गर्नुपर्छ र धूमपान तथा मदिराबाट टाढा रहनुपर्छ भन्ने कुरा बुझेकै छौँ । अब आफूले बुझेका कुरा व्यवहारमा लागू गर्न आवश्यक छ ।
सन्तुलित खानपान गर्ने, शरीरलाई सक्रिय राख्ने, तौल नियन्त्रण गर्ने र रक्तचाप, मधुमेह तथा कोलेस्ट्रोललाई नियन्त्रणमा राख्ने बानी बसालौँ । दीर्घरोग भएका व्यक्तिले नियमित औषधि सेवन गरौँ । चाडपर्वमा रमाइलो गर्दा पनि स्वास्थ्यलाई बेवास्ता नगरौँ, ध्यान दिउँ ।
औषधि र उपचारको आफ्नै भूमिका हुन्छ, तर आफ्नो स्वास्थ्यको हेरचाह गर्ने जिम्मेवारी सबैभन्दा पहिला त आफ्नै हो । त्यसैले यस दसैँमा हामी सबैले स्वस्थ जीवनशैली अपनाउने प्रयास गरौँ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिउँ । चाडबाड मनाउँदा खानपान र त्यसबाट मुटु स्वास्थ्यमा आउन सक्ने जोखिमलाई विशेष ध्यान दिउँ । रासस


प्रतिक्रिया