बागलुङमा डेंगुबारे सचेतना अभियान सञ्चालन

बागलुङ । बागलुङको गलकोटमा डेंगुबारे सचेतना कार्यक्रम सुरु भएको छ । पछिल्लो समय जुनसुकै स्थानमा पनि डेंगु देखिन थालेपछि स्वास्थ्यकर्मी र सरोकारवालाको अगुवाइमा डेंगुबारे सचेतना अभियान सुरु भएका हुन् ।
लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको संक्रमण भएमा बिरामीको मृत्युसमेत हुने जोखिम भएकाले सतर्कता आवश्यक पर्ने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताए । सोमबार स्वास्थ्य कार्यालय हटिया, उद्योग वाणिज्य संघ गलकोट, महिला स्वास्थ्य स्वयंसेविका, गैरसरकारी संस्थासमेतको सहभागितामा बजार क्षेत्रमा डेंगुबारे सचेतना र्यालीसमेत सञ्चालन भएको थियो ।
जथाभावीरुपमा थुपारिएका गाडीका टायर व्यवस्थापन, सरसफाइ गर्न, पानी जम्न नदिनेलगायतका सुझाव दिएर बजारवासीलाई सचेत बनाइएको स्वास्थ्य कार्यालय हटियाका प्रमुख दिलु सुवेदीले जानकारी दिए । यो अभियानमा सुआहारा परियोजनाका स्वास्थ्य कार्यकर्ताले पनि साथ दिएका थिए ।
डेंगु लागेमा उच्च ज्वरो, रुघाखोकीसमेतका लक्षण देखिने गर्छ । कतिपयलाई परीक्षण गर्दा डेंगु पुष्टिसमेत भइसकेकाले अभियानका रुपमा सचेतना गर्नुपरेको स्वास्थ्यकर्मीले बताएका छन् । डेंगुविरुद्ध स्वास्थ्य कार्यालयले दशवटै पालिका र सबै स्वास्थ्यचौकीका प्रमुख र अन्य स्वास्थ्यकर्मीलाई तालिमसमेत दिएको थियो ।
साथै उनीहरुकै अगुवाइमा सचेतना कार्यक्रम सञ्चालन गर्न पनि लगाएको हो । रगत जाँचपछि मात्र डेंगु पत्ता लगाउन सकिने भएकाले पालिका तहमा पनि आवस्यक किट पठाइएको घिमिरेले जानकारी दिए । सजिलै सर्ने भएकाले सतर्कता अपनाउन सचेतना कार्यक्रम सञ्चालन गर्नुपरेको उनले बताए ।
प्रतिक्रिया