NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

लार्भा नष्ट गर्ने अभियानमा तीव्रता दिँदै विराटनगर महानगर

विराटनगर । विराटनगर महानगरपालिकाले डेङ्गु रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको छ ।सरोकारवालालाई राखेर अभिमुखीकरणपछि महानगरले डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको हो ।

महानगरको स्वास्थ्य महाशाखाको सक्रियतामा बुधबार विराटनगर–८ का विभिन्न टोलमा लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ । वडाध्यक्ष राम पोखरेलको नेतृत्वमा शान्तिचोकदेखि दक्षिण जतुवासम्म रहेका मोटरसाइकलका ग्यारेज, स्थानीयको घर र पानी जमेको स्थानमा लामखुट्टेको लार्भा खोजेर नष्ट गरिएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।

विशेष गरी टायर, झाडी, जमेको फोहोर पानीलगायतमा डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टे बस्ने भएकाले खोज तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको वडाध्यक्ष पोखरेलले बताए । यसअघि महानगरले स्वास्थ्य, नागरिक समाजसहित सरोकारवालालाई राखेर डेङ्गुु नियन्त्रण तथा रोकथामका लागि अभिमुखीकरण सञ्चालन गरेको थियो ।

महानगरका प्रमुख नागेश कोइरालाको निर्देशनअनुसार सबै वडामा डेङ्गु नियन्त्रणको अभियान सञ्चालन गरिरहेको महाशाखा प्रमुख अलीले बताए । सो कार्यअन्तर्गत हरेक दिन विभिन्न वडामा लामखुट्टे र लार्भा नष्ट गर्ने अभियान जारी छ । यसअघि मङ्गलबार वडाध्यक्ष श्याम घिमिरेको नेतृत्वमा वडा नं १९ मा खोज तथा नष्ट गर्ने अभियान सञ्चालन गरिएको थियो ।

महानगरको अभियानपछि सङ्क्रमणसमेत घट्दै गएको महानगर स्वास्थ्य महाशाखा प्रमुख अलीको दाबी छ । घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउनेलगायतका विधि अपनाएमा डेङ्गुको सङ्क्रमणबाट बच्न सकिने चिकित्सकले बताउँदै आएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष