स्वस्थ रहन फिटनेस प्रशिक्षक थापाले दिएका पाँच टिप्स

काठमाडौं । हामीले सानैदेखि पढ्दै र सुन्दै आएको कुरा हो ‘स्वास्थ्य नै धन हो ।’
तर बढ्दो विलासी जीवनले विभिन्न स्वास्थ्य समस्या सिर्जना हुने गरेका छन् । असन्तुलित खान, विलासी जीवनशैली, रहनसहनले स्वास्थ्यमा आउने समस्या समाधानका लागि खासगरी सहरी क्षेत्रमा व्यायाम गर्ने प्रचलन बढ्दो छ ।
फिटनेस प्रशिक्षक अञ्जिर थापा स्वस्थ रहनका लागि विभिन्न काम गर्नुपर्ने बताउँछन् । थापाले फिटनेस रहनका लागि केही टिप्स दिएका छन् । जुन निम्न छन् :
१. राति छिटो सुत्ने र बिहान सबेरै उठ्ने
राति छिटो सुत्ने र बिहान सबेरै उठ्ने बानीले मानिसलाई स्वस्थ बनाउनुका साथै बौद्धिकता विकास गर्न विशेष मद्दत गर्छ । त्यसैले नियमित रूपमा व्यवस्थित ढंगले सुत्ने–उठ्ने बानीकोे विकास गर्न जरुरी छ । यसो गर्दा तपाईं स्वस्थ हुनुको साथै मांसपेसीलाई पनि आराम मिल्छ ।
२. दैनिक एक घण्टा व्यायाम गर्ने
स्वास्थ्य नै तपाईंको सबैभन्दा ठूलो धन हो । यदि तपाईंसँग धेरै पैसा छ र स्वास्थ्य ठीक छैन भने त्यो पैसाको अर्थ हुँदैन ।
त्यसैले पछि अस्पतालको बिल बढाउनुभन्दा अहिले नै आफ्नो स्वास्थ्यप्रति सजग भएर नियमित एक–एक घण्टा व्यायाम गर्नु उपयुक्त हुन्छ ।
३. इच्छा शक्तिसँगै चाहिन्छ धैर्यता र लगनशीलता
व्यायाम गर्न जाँदैमा फिट रहन सकिन्न । त्यसका लागि इच्छाशक्ति, लगनशीलता र अनुशासनसँगै धैर्यता अतिआवश्यक हुन्छ ।
४. सन्तुलित आहार
यदि तपाईं आफ्नो शरीरको तौल सन्तुलनमा राख्न र लामो समयसम्म स्वस्थ रहन चाहनुहुन्छ भने बिहानको खाजा पोषणयुक्त हुन आवश्यक छ ।
बिहानको खाजामा फलफूल, दूध, केरा र प्रोटिनयुक्त आहार खाने गर्नुपर्दछ । नियमित यसो गर्नाले तौल नियन्त्रणमा मद्दत गर्छ ।
५. खाना कम खानुहोस्
भनिन्छ, कम खानु स्वास्थ्यका लागि सधैं फाइदाजनक हुन्छ । आफूले कति खाने भनेर धेरैलाई थाहा हुदैन ।
जसले गर्दा एकातिर तौल वृद्धि भइरहेको हुन्छ भने अर्कातिर रोग लागिरहेको हुन्छ ।
त्यसैले भोक लागे पनि कम खानु राम्रो हुन्छ । यसो गर्दा शरीर हल्का र स्वस्थ हुन्छ साथै मोटोपना रहँदैन ।
प्रतिक्रिया