तनहुँमा दुई महिनामा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण
दमौली । तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । साउनयता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ मा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ भने एकको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
व्यास नगरपालिकामा कार्यरत इञ्जिनियर कमलप्रसाद शर्माको डेङ्गुबाट मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनले डेङ्गु परीक्षणका लागि दमौली अस्पतालमा किट पर्याप्त मात्रामा रहेको जानकारी दिँदै सङ्क्रमणबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरे ।
प्रमुख अधिकारीका अनुसार गतवर्ष जिल्लामा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या एक सय भन्दा बढी थियो । लामखुट्टेको टोकाइबाट डेङ्गु हुने भएकाले यसबाट जोगिनु नै उपयुक्त उपाय भएको उनको भनाइ थियो ।
‘डेङ्गुको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ र वर्षादको मौसम सुरु भएपछि डेङ्गु ज्वरोको प्रकोप बढ्न थाल्दछ’, अधिकारीले भने, ‘एक्कासि तीनदेखि पाँचदिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सातदिनसम्म रहन सक्दछ ।’ उनका अनुसार ज्वरोका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनुलगायत डेङ्गुका लक्षण हुन् ।
डेङ्गुबाट बच्नका लागि पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घर वरपर तथा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाइबाट बच्ने मलम प्रयोग गर्नुपर्ने चिकित्सक बताउँछन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया