NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

विश्व दृष्टि दिवस : अन्धोपन निवारण गर्न ग्रामीण क्षेत्रमा उपचार सेवा विस्तार गर्नुपर्ने

चितवन । नेपालमा अन्धोपन निवारण गर्न ग्रामीण क्षेत्रसम्म आँखा उपचारको पहुँच पु-याउनुपर्ने भएको छ । आँखा उपचार क्षेत्रमा क्रियाशील विज्ञको भनाइमा सहरी क्षेत्रमा चिकित्सक र सुविधा सम्पन्न अस्पताल भए पनि अन्धोपन बढी सङ्ख्यामा ग्रामीण क्षेत्रमा रहेको छ ।

भरतपुर आँखा अस्पतालका कम्युनिटी अप्थाल्मोलोजिष्ट प्रा डा सोनु दुलाल सहरी क्षेत्रमा राम्रा अस्पताल र चिकित्सक भएका तर धेरैजसो आँखाको समस्या दूरदराजको ग्रामीण क्षेत्रमा रहेको बताउँछन् ।

उनी भन्छन् ‘नेपालमा डाक्टर हुनुहुन्छ, उहाँहरु सहरमै बस्नुहुन्छ, सहरमै अस्पताल बन्छ । आँखाको सेवा लिनुपर्ने जनसमुदाय सहरबाट टाढा दूरजराजमा बस्नुहुन्छ ।’ नेपालको मात्रै नभएर संसारमै यही अवस्था रहेको उनको भनाइ छ ।

आँखाको विषय त्यति जटिल नलागे पनि अन्धोपनको समस्या विकराल रहेको भन्दै उनले धेरैजसो देशमा सरकारले आँखाको उपचार सेवा दिन नसक्ने अवस्था रहेको बताए। उनले भने, ‘जुन रोगबाट मानिसको तुरुन्त मृत्यु हुन्छ, त्यस्ता रोगको उपचारमा सरकारको प्राथमिकता हुँदोरहेछ । त्यसैले सरकारले आँखाको उपचारमा ध्यान दिन सक्दा रहेनछन् ।’ गैरसरकारी संस्थाले नै आँखा उपचार सेवा समुदायसम्म पु¥याउने चलन धेरै देशमा रहेको उनको भनाइ छ । उनले भने,‘नेपालमा पनि यही नै चलन छ ।’

विश्वस्वास्थ्य सङ्गठनले जारी गरेको तथ्याङ्क उद्धृत गर्दै उनले भने, ‘विश्वमा दुई अर्ब २० करोड मानिसलाई आँखाको समस्या छ, त्यसको आधा अर्थात् एक अर्ब १० करोड मानिस आँखा उपचार सेवाबाट बञ्चित छन् ।’ उनले अगाडि थपे, .‘उनीहरु उपचारको पहुँचबाट टाढा छन् । यिनीहरुमध्ये पनि ५० वर्षभन्दा बढी उमेरका व्यक्तिमा समस्या बढी छ । समस्या भएकामध्ये ५० वर्षभन्दा माथिका ६५ प्रतिशत छन् ।’

नेपालमा नेपाल नेत्रज्योति सङ्घ स्थापनाकालदेखि नै आँखा उपचारको सेवा दिँदै आएको भन्दै उहाँले अहिले नेपाल नेत्रज्योति सङ्घअन्तर्गत देशभरमा २८ वटा अस्पताल र एक सय ६० भन्दाबढी आँखा उपचार केन्द्र रहेको जानकारी दिए । ती अस्पताल र आँखा उपचार केन्द्रमार्फत समुदायमा गएर आँखा उपचार सेवा दिँदै आएको उनले बताए ।

नेपालमा आँखा रोग विशेषज्ञको सङ्ख्या राम्रो उत्पादन भएको भन्दै प्रा डा दुलालले भारतमा भन्दा नेपालमा नेत्र रोग विशेषज्ञ सङ्ख्या राम्रो रहेको बताउए । उनले भने, ‘नेपालमा एक लाख जनसङ्ख्यामा एक जनाभन्दा बढी अर्थात् एक लाख जनसङ्ख्यामा १।२ डाक्टरको अनुपात छ । भारतमा एक लाख जनसङ्ख्यालाई एक जना नेत्ररोग विशेषज्ञको मात्र व्यवस्था छ ।’

अन्धोपनको प्रमुख कारण मोतियाविन्दु भएको भन्दै प्रा डा दुलालले भने, ‘मोतियाविन्दु हामीले नेपालभरिमा शल्यक्रिया ग¥र्यौं भने अब सिद्धियो भन्ने हुँदैन । अर्को वर्ष नयाँ मोतियाविन्दुका बिरामी भेटिन्छन् ।’

सहर र आसपासमा हुनेहरु अलिअलि मोतियाविन्दु हुँदा नै उपचार पहुँचमा हुने भन्दै उनले भने, ‘जो मानिस ग्रामीण इलाका छन् । उनीहरुको आँखा एकदमै कमजोर हुँदा पनि उपचारका लागि जान सक्दैन ।’
अन्धोपन निवारणका लागिराज्यले नै स्वामित्व लिनुपर्ने प्रा डा दुलालले सरकारले सहजीकरण गरिदिनुपर्ने बताए।

उनले भने, अस्पताल खोल्न चाहनेलाई प्रोत्साह गर्नुपर्छ । सरकारी नीतिनियम असहज छन्, तिनीहरुलाई सहज बनाइदिनुपर्छ ।’ अस्पतालले पनि समुदायमा जाने काम गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दले ग्रामीण क्षेत्रमा शिविरमार्फत आँखा उपचार सेवा दिँदै आएको बताए । आँखाका बिरामी गाउँमा धेरै रहेका स्वीकार गर्दै उहाँले सबै पालिकामा आँखा उपचार केन्द्र वा अस्पताल सञ्चालनका लागि सङ्घले काम गरिरहेको बताए ।

सङ्घले मात्रै वर्षमा ४० लाख बिरामीलाई सेवा दिएको उनी बताउँछन् । गत वर्ष ती बिरामीमध्ये दुई लाख ७५ हजारको शल्यक्रिया गरिएको थियो । हरेक वर्ष ग्रामीण क्षेत्रमा पुगेर तीन हजार बढी शिविर गर्ने गरिएको उनले बताए । उनले प्रत्येक वर्ष शल्यक्रियासहितको शिविरमा चार लाखलाई सेवा दिएको बताए। चालिस हजारभन्दा बढीको निःशुल्क शल्यक्रिया गरिएको उनले जानकारी दिए ।

यसैबीच भरतपुर आँखा अस्पतालले विश्व दृष्टि दिवसका अवसरमा प्रभातफेरी कार्यक्रम गरेको छ । भरतपुरको चौबीसकोठीदेखि अस्पतालसम्म प्रभातफेरी गरिएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष