NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

भरतपुर आँखा अस्पतालमा नयाँ भवन निर्माण 

भरतपुर । भरतपुर आँखा अस्पतालले सुविधासम्पन्न नयाँ भवन निर्माण गरेको छ । १४ करोड लगानीमा नयाँ सुविधासम्पन्न भवन निर्माण भएको हो ।

२० करोड लागत अनुमान गरिएको भवन रु १४ करोडमा निर्माण सम्पन्न गरिएको अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं भवन निर्माण समितिका संयोजक चिजकुमार मास्केले बताए ।

उनले भरतपुर आँखा अस्पतालको रु छ करोड, नेत्रज्योति सङ्घको रु एक करोड र अन्य रकम दाताबाट चन्दा सङ्कलन गरेर भवन निर्माण गरिएको बताए । उनले भने, ‘पहिला लागत अनुमानमा आधुनिक शल्यक्रिया कक्ष थिएन, पछि थप ग-यौँ ।’ शल्यक्रिया कक्ष निर्माण गर्दा थप रु दुई करोड खर्च भएको उनले जानकारी दिए ।

नेपाल नेत्रज्योति सङ्घका सभापति एवं अस्पतालका अध्यक्ष जयराम श्रेष्ठका अनुसार तीन तले उक्त भवनमा शल्यक्रिया कक्ष, ओपिडी (बहिरङ्ग विभाग), बाल उपचार कक्ष (पेडियाट्रिक वार्ड) सञ्चालन हुनेछ ।

अस्पताललाई आवश्यक उपकरण भने हेल्पिङ हेण्ड संस्थाले दिने उनले जानकारी दिए । उनले भने, ‘हेल्पिङ हेण्डसँग ७२ प्रकारका उपकरण माग गरेका छौँ, ती सामग्री छिट्टै आउँदैछन्’, ती उपकरण ल्याउने ढुवानी भाडा र भन्सार भने आफूहरुले तिर्नुपर्ने उनको भनाइ छ ।

तिहारलगत्तै नयाँ भवनबाट सेवा सुरु हुने उनले जानकारी दिए । नयाँ भवनबाट सेवा सुरु भएसँगै सेवाग्राहीले थप गुणस्तरीय सेवा पाउने उनको भनाइ छ । विसं २०४४ चैत १८ गतेबाट अस्पताल सञ्चालनमा आएको हो ।

मुख्य अस्पताल भरतपुर महानगरपालिका-१० मा छ । यही ठाउँमा भवन निर्माण गरिएको हो । यसका अतिरिक्त भरतपुर ओरालोमा पनि अस्पतालमा सञ्चालनमा छ । यसबाहेक तीन सेकेण्डरी अस्पताल र १३ आँखा उपचार केन्द्र यस अस्पताल मातहत छन् ।

उनका अनुसार अस्पतालमा आएका बिरामी र शिविरमार्फत बिरामीलाई सेवा दिँदै आएको छ । यो अस्पतालले चितवनसहित छिमेकी विभिन्न जिल्लामा सेकेण्डरी अस्पताल, आँखा उपचार केन्द्र र शिविरमार्फत सेवा दिँदै आएको छ । अस्पतालले एक वर्षमा तीन लाख हाराहारीलाई उपचार सेवा दिँदै आएको छ । आँखा उपचारको क्षेत्रमा यो अस्पताल देशमा नै अग्रणी अस्पतालको रुपमा चिनिन्छ ।