NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

‘असुरक्षित गर्भपतन गराउँदा ज्यान जोखिममा पर्न सक्छ’

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तोकिएका सरकारी स्वास्थ्य संस्थामा उक्त सेवा निःशुल्क र गर्भपतन गराउनेको परिचयसमेत गोप्य राखिन थालिएपछि यो सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकृत खगेन्द्रसिंह कार्कीले गत आर्थिक वर्ष २०७९/८० मा कञ्चनपुरमा दुई हजार पाँच सय २२ जना महिलाले यो सेवा लिएको बताए ।

कञ्चनपुर प्रहरीले पनि केही समययता अवैध गर्भपतन लगायत स्वास्थ्य क्षेत्रमा बिना अनुमति सञ्चालनमा रहेका मेडिकल बन्द गराउन थालेपछि सरकारी स्वास्थ्य संस्थामा सेवाग्राहीको वृद्धि भएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरमा अनुसार चालु आर्थिक वर्षको हालसम्म यहाँ आठ सय ९५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

‘मासिक दुई सय २० भन्दा बढी सेवाग्राही यो सेवा लिन आएको देखिन्छ ।’ सूचना अधिकृत कार्कीले भने, ‘कञ्चनपुरमा पनि प्रादेशिक अस्पतालदेखि सरकारी केही स्वास्थ्य संस्थामा यो सेवा तोकिएको छ ।’

त्यसैगरी नेपाल परिवार नियोजन सङ्घ कञ्चनपुरका कार्यालय प्रमुख उद्धव भट्टले पनि पछिल्लो समय स्वास्थ्य संस्थामा सेवा पुगेसँगै सेवाग्राहीको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको बताए । ‘पहिलो निश्चित ठाउँमा भएकाले बेला परिवार नियोजन सङ्घमा मासिक एक सय भन्दा बढी सेवाग्राही पुग्थे ।’ उनले भने ‘ हामीकहाँ औषधि र औजार विधिबाट यो सेवा प्रवाह गरिरहेका छौँ ।’

उनले मासिक ३५ देखि ४० सेवाग्राही सेवा लिन आउने गरेको जनाउँदै आउनेमध्ये अधिकांश औषधिविधि रोज्ने गरेको जानकारी दिए। कञ्चनपुरमा सङ्घले सन् २००८ देखि यो सेवा दिँदै आएको कार्यालय प्रमुख भट्टको भनाइ छ ।

स्वास्थ्य कार्यालयले भने शतप्रतिशत सेवाग्राही अझै सरकारी स्वास्थ्य संस्थामा आइनसकेको बताए । ‘अझै पनि लुकिछिपी अवैध रुपमा मेडिकल र भारतमा गएर पनि गर्भपतन गराउने रहेको बुझिन्छ ।’ सूचना अधिकृत कार्कीले भने, ‘ अवैध तरिका अपनाउदा ज्यान जोखिममा पर्न पनि सक्छ ।’