भूकम्प प्रभावित जिल्लामा खोप दिइँदै

काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रमा दादुरा-रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट भूकम्प प्रभावित जिल्लामा बिहीबारदेखि दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न थालिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार दादुराविरुद्धको खोप भूकम्प प्रभावित जिल्ला जाजरकोट र पश्चिम रुकुममा तथा टाइफाइडविरुद्धको खोप ती दुई जिल्ला जाजरकोट र पश्चिम रुकुमसहित सुर्खेत, सल्यान, दैलेख, कालीकोट र जुम्लामा सञ्चालन गरिने छ ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा–रुवेलाविरुद्धको खोप छ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई र टाइफाइडविरुद्धको खोप १६ वर्षदेखि ४५ वर्षसम्मका सबैलाई लगाइने छ ।
उनले जाजरकोटमा दुई वर्षअघि दादुरा देखिएकाले पुनः नदेखियोस् भनेर खोप लगाउन थालिएको बताए । ‘भूकम्पपछि महामारी हुनसक्ने सम्भावना रहन्छ, तीमध्ये सबैभन्दा बढी दादुरा–रुवेला र टाइफाइड हुनसक्ने सम्भावना रहन्छ’, उनले भने, ‘ ती ठाउँका बालबालिकामा पोषण पनि कम भएको होला, दूषित पानी पनि खाएका होलान्, त्यसैले हामीले दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्दैछौँ ।’
छ महिनादेखि १५ वर्षसम्मका एक लाख ५० हजार र १६ वर्षदेखि ४५ वर्षसम्मको सङ्ख्या छ लाख ५० हजार रहेको छ । खोप अभियान यही पुस १४ गतेसम्म सञ्चालन हुनेछ ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया