NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कांग्रेस र माओवादीको साथले मात्रै जित्न सकिने पोखरामा नेकपा एसले मेयरमा कसलाई उठाउँदैछ ?

काठमाडौं । सत्ता गठबन्धन दलहरूबीच ६ महानगरको भागबण्डामा पोखरा महानगरपालिका नेकपा (एकीकृत समाजवादी)ले लिएको छ । मंगलबार बसेको गठबन्धनको बैठकले कांग्रेस र माओवादीको साथमा पोखरा महानगर एकीकृत समाजवादीले लिने सहमति भएको हो ।

उक्त पार्टीले मेयरका लागि तीन जना उम्मेदवारको नाम सिफारिस गरेको छ । कास्की जिल्ला कमिटीले मेयरको उम्मेदवारमा दिलु पन्त, श्रीनाथ बराल र धनराज आचार्यको नाम सिफारिस गरेको नेता पन्तले जानकारी दिइन् ।

पोखरामा उपमेयर भने कांग्रेसको भागमा परेको छ । उम्मेदवारमा सिफारिस भएका तीन जनामा पन्त र बराल पोलिटब्यूरो सदस्य हुन् ।
आचार्य केन्द्रीय सदस्य हुन् । पन्तको घर पोखरा महानगरपालिका वडा नम्बर १२ मा रहेको छ । बरालको घर वडा नम्बर १३ मा रहेको छ । त्यस्तै आचार्यको घर वडा नम्बर ५ मा रहेको छ । बराललाई पोखरेलीहरूले भुईंमान्छेको रुपमा चित्रण गर्छन् । पोखरेली जनतामाझ निकै लोकप्रिय रहेका उनलाई जिल्ला कमिटीले मेयरका उम्मेदवारमा सिफारिस गरेको हो । उम्मेदवारका अर्का आकांक्षी आचार्य व्यापारी पृष्ठभूमिका व्यक्ति हुन् । उनी पोखरामै बसेर विभिन्न व्यापार व्यवसाय गर्दै आएका छन् ।

को हुन् पन्त ?

पन्त अनेरास्ववियु, अनेमसंघ र युवा संघ केन्द्रीय सदस्य हुँदै पार्टीको पोलिटब्यूरो सदस्य भएकी थिइन् । गत भदौ २ मा एमाले विभाजनअघि उनी एमालेको केन्द्रीय सदस्य र राष्ट्रिय युवा संघ नेपालको उपाध्यक्ष रहेकी थिइन् ।

महिला अधिकारको हक अधिकारको क्षेत्रमा सक्रिय रहँदै आएकी पन्त पोखरा महानगरको मेयरको प्रमुख दावेदार रहेकी छिन् । गत निर्वाचनमा एमालेले जितेको यस महानगरमा एमालेसँग विद्रोह गरी नयाँ पार्टी गठन गरेकोले एकीकृत समाजवादी पार्टीलाई निर्वाचन जित्न कांग्रेस र माओवादी मतदाताले इमान्दारपूर्वक मत दिनुपर्ने हुन्छ ।

एमालेको बलियो पकड रहेको पोखरामा नेकपा एसलाई जितसम्म पुग्ने मुख्य शक्ति कांग्रेस र माओवादीको मत हो । एमाले विभाजनबाट बनेको नयाँ दल हुनुको चुनौती पनि एसलाई छ । अहिलेसम्म शक्ति परीक्षण नभएको नयाँ पार्टीको उम्मेदवार बनेर बलियो पकड रहेको एमालेलाई परास्त गर्नुपर्ने चुनौती एसलाई चुनौती हुनेछ ।

अझै कांग्रेसले अन्य पार्टीका नेतालाई उम्मेदवार नस्वीकार्ने अहिलेदेखि चुनौती र असन्तुष्टिलाई व्यवस्थापन गरेर कांग्रेसका मतदाताको मत तान्नु अर्को चुनौती हुनेछ ।

उम्मेदवारको योग्यता, क्षमता, इमान्दारिता, विकासप्रतिको समग्र दृष्टिकोण, एजेण्डाका कारणले पनि मतदाता प्रभावित हुन सक्छ । तर समग्रमा पार्टीको उम्मेदवार नै बलियो रहने प्रतिस्पर्धामा पन्तले पार्टीबाट टिकट पाएको खण्डमा कांग्रेस, माओवादी, जसपाको मतदातासहित तटस्थ रहेका मतदातालाई आकर्षित गर्नुपर्ने चुनौती छ ।

महानगरभित्र अझै बेथिति रहेको उनी बताउँछिन् । विकासको नाममा अनियमितता बढेकाले त्यसलाई नियन्त्रण गर्ने काममा आफ्नो ध्यान जाने उनी बताउँछिन् ।

‘पार्टीबाट टिकट पाएको खण्डमा पोखरा महानगरलाई सुशासनसहित स्वास्थ्य र शिक्षालाई निशुल्क बनाउने मेरो प्राथमिकता हुनेछ । पार्टीको घोषणापत्र अनुसार मेरो काम कारवाही अगाडि बढ्ने छ । युवा रोजगार र महिलालाई सशक्तिकरण गर्दै शिक्षित र उद्यमशीलता बनाउने काममा ध्यान जानेछ’, उनले भनिन्, ‘जनताको जीवनस्तर, आर्थिक उन्नति र उत्पीडित जनताको पक्षमा मुद्दा बनाएर जाने योजना रहेको छ । मैले लामो समय युवा र महिलाको विषयमा काम गरेकाले महानगरको आर्थिक विकाससँग जोड्न मेरो मूख्य भूमिका रहने छ ।’

युवा शक्तिलाई नगर विकाससँग जोड्न सकिएमात्र आर्थिक उन्नति, प्रगति, उत्पादन र रोजगारमा वृद्धि हुने उनको तर्क रहेको छ ।

पोखरा नेकपा एसलाई दिने निर्णयलगत्तै कांग्रेसमा बबन्डर, कांग्रेस कार्यालयमा तालाबन्दी

ताजा अपडेट

नेपालवाच विशेष