NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

काठमाडौंको चुनावी सभामा गगन थापा बोलाइएनन् कि गएनन् ?

काठमाडौं । सत्ता गठबन्धनले बिहीबार भरतपुर र शुक्रबार काठमाडौंमा गरेको चुनावी सभा दुवैमा कांग्रेस महामन्त्री गगन थापाको माग भएको थियो । तर दुवै चुनावी सभामा थापा उपस्थित भएनन् ।

भरतपुर गगनको क्षेत्र होइन तर काठमाडौं भने उनैले प्रतिनिधित्व गर्ने क्षेत्र हो । थापाको निर्वाचन क्षेत्रका केही भागसमेत काठमाडौं महानगरपालिका पर्छ । कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले गरेको चुनावी सभामा भने प्रभावशाली युवा नेता उपस्थित भएनन् ।

काठमाडौंको राजनीतिमा नेता प्रकाशमान सिंहपछि गगन थापाको सबैभन्दा धेरै प्रभाव छ । तर उनै थापा सत्ता गठबन्धनले काठमाडौंमा गरेको चुनावी सभामा उपस्थित नभएका हुन् । सभामा प्रधानमन्त्री शेरबहादुर देउवा,

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितका नेता सहभागी थिए ।

थापाका स्वकीय सचिव शैलेश सिटौलाका अनुसार उनी शुक्रबार रौतहट पुगेका छन् । ‘शुक्रबार दाइको कार्यक्रम रौतहटमा भएकोले उतै पुग्नुभएको हो’ सिटौलाले भने, ‘काठमाडौंमा शुक्रबार चुनावी सभा भए पनि फेरि २७ वैशाखमा सभा हुनेछ । त्यो सभामा महामन्त्री उपस्थित हुनुहुन्छ ।’

भरतपुरमा बिहीबार भएको चुनावी सभामा पनि थापाको खोजी भएको थियो । तर थापा गएनन् । जिल्लाले गगन पनि सहभागी हुने भनेर प्रचार गरे पनि थापालाई कार्यक्रमबारे कुनै जानकारी नदिएको बुझिएको छ ।

कार्यक्रम हुने हुने बिहान चितवन जिल्ला सभापति राजेश्वर खनालले फोन गरेर डा. शेखर कोइरालालाई बोलाएका थिए । तर मोरङमा पहिले नै कार्यक्रम तय भइसकेको भन्दै कोइरालाले हतारमा आउन नसक्ने जानकारी गराएका थिए । भरतपुरमा बागी उम्मेदवार जगन्नाथ पौडेललाई फिर्ता गराउन शेखरमार्फत् सकिन्छ कि भन्ने अन्तिम प्रयत्न गर्न पनि बोलाइएको थियो । तर ढिलो गरी खबर आउँदा कोइराला भरतपुर पुगेनन् ।

अर्का प्रभावशाली नेता थापालाई पनि जिल्ला कार्यसमितिले समयमै कार्यक्रमको लागि खबर नगरेको बुझिएको छ । शेखर र गगन चितवनमा उभिएर गठबन्धनको पक्षमा भाषण गर्दा माहोल बेग्लै हुने बुझाई कांग्रेसको थियो । तर यी दुवै नेता सहभागी भइदिएनन् ।

काठमाडौंमा अघिपछि गरिने साना कार्यक्रममा पनि थापाले सक्रियतापूर्वक सहभागिता जनाउने गरेका थिए । तर सत्ता गठबन्धनका शीर्ष नेता सहभागी भएको कार्यक्रममा थापा भने सहभागी नभएका हुन् ।

थापालाई चुनावीसभामा जिल्ला कार्यसमितिले खबर गरे पनि शुक्रबारलाई रौतहटका ६ वटा कार्यक्रम पहिल्यै नै तय भएको थापाको सचिवालयले जनाएको छ ।

‘उहाँको कार्यक्रम रौतहटमा पहिल्यै तय भएको थियो । काठमाडौंमा शीर्ष नेता सहभागी हुने भए पनि उहाँलाई पनि खबर भने थियो’ सचिवालयले भन्यो, ‘अब २७ वैशाखमा काठमाडौं, ललितपु र भक्तपुरमा हुने कार्यक्रममा महामन्त्री सहभागी हुनुहुन्छ ।’

काठमाडौंमा सिर्जना सिंह मेयरको उम्मेदवार बनेपछि थापाले घरमै गएर भेट्ने र चुनावी माहोल बनाउन पनि सहयोग गरेका थिए ।

१४ औं महाधिवेशनसम्म नेता प्रकाशमान सिंह र थापा एउटै समूहमा थिए । तर महाधिवेशनमा सिंह पहिलो चरणमा सभापति आफैं उठे । दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गरे । तर थापाले डा. शेखरको समूहबाट महामन्त्री जितेका हुन् । अहिले अलग समूहमा रहे पनि काठमाडौंको राजनीतिमा भने सिंह र थापा एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने गरेका छन् ।

भरतपुर र काठमाडौंको मेयरको उम्मेदवारबारे देउवाको नयाँ खुलासा