NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सात वर्षदेखि डिल्लिराम पुस्तकालयको मुद्धा अदालतमा विचारधीन, भवन जीर्ण अवस्थामा

काठमाडाैं । वरिष्ठ राजनीतिज्ञ तथा इतिहासकार डिल्लीराम रेग्मीको १११ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ  । मंगलबार लाजिम्पाटस्थित डिल्लिराम –कल्याणी रेग्मी स्मारक पुस्तकालयको भवनमा एक कार्यक्रमबीच डिल्लीराम रेग्मीको जन्मजयन्ती मनाइएको हो ।

कार्यक्रममा पुस्तकालय विकास समितिका अध्यक्ष गोपाल थाङछा राईले जहानिया राणा शाषण, पञ्चायती व्यवस्था अन्त्यका लागि रेग्मीको भूमिकाको स्मरण गर्दै हरेक वर्ष जन्मजयन्ती मनाउने गरेको बताए । अध्यक्ष राइले पुस्तकालयको जग्गा विवाद विषयमा अदालतमा मुद्दा चलिरहेको कारणले भवन निर्माण हुन नसकेको स्पष्ट पारेका छन् । नयाँ भवन निर्माण हुन नसक्दा पुस्तकालय अहिले जीर्ण अवस्थामा पुगेको अध्यक्ष राइले बताए ।

श्वर्गीय रेग्मीका नातिनीले हजुरबुवाको सम्पति आफैले उपभोग गर्न पाउनुपर्ने भन्दै अदालतमा उजुरी दिएपछि अहिले मुद्दा चलिरहेको अध्यक्ष राइको भनाइ छ । जग्गा विवाद विषयमा विगत सात वर्षदेखि अदालतमा मुद्दा विचारधीन अवस्थामा रहेको छ । अध्यक्ष राइले अब अदालतबाट कुनै निर्णय नभएकाले आफ्नो कार्यकालभित्र मुद्दा टुंग्याएर पुस्तकालयको भवन निर्माण गर्न त्यहीअनुसार कार्य थालनी गरेको जनाए । अब आफ्नो नेतृत्वमा प्रधानमन्त्रीसँग डेलिकेसनको लागि जाने  तयारी रहेको उनले बताएका छन् ।

रेग्मीले आफ्नो मृत्युपछि उक्त सम्पति आफ्नो र पत्नीको नाम रहने गरी सरकारलाई हस्तान्तरण गरेका थिए । तर अहिले रेग्मीकै नातिनीले जग्गा सरकारको नामममा नभएर व्यक्तिगत हुनुपर्ने भन्दै अदालतमा उजुरी दिएको कारण मुद्दा विचारधीण अवस्थामा छ ।

रेग्मीले आफ्नो संग्रहमा रहेका २५ हजारभन्दा बढी पुस्तकसमेत हस्तान्तरण गरेका थिए । जसमा नेपाली, अंग्रेजी, हिन्दी, नेवारी, संस्कृत भाषामा लेखिएका इतिहास, संस्कृति, समाजशास्त्र, अर्थशास्त्र, साहित्य विषयक पुस्तक छन् । त्यसमा रेग्मीकृत चर्चित इतिहास पुस्तकहरू ‘मोर्डन नेपाल’ भाग एक र दुई, ‘मेडिएभल नेपाल’ भाग एक र दुईलगायत छन् ।

हाल पुस्तकालयमा तीन हजारभन्दा बढी विभिन्न पुस्तकहरू छन् । त्यहाँ पुस्तकहरू निशुल्क अवलोकण गर्न सकिने व्यवस्था छ ।