बैंकबारे भ्रम छरिरहेका दुर्गा प्रसाईंलाई किन सातखत माफी ?
ऋणको पासोबाट उम्कन लगातार हमला, उजुरी परे हुनसक्छ जेल सजाय
काठमाडौं । ‘बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई अबउप्रान्त जहाँ भेट्नुहुन्छ, त्यही कालोमोसो दल्नुहोला,’ ०७९ फागुन १ मा झापामा आयोजित सभामा आफ्ना समर्थकलाई उकेरा हाल्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भनेका थिए, ‘के–के पर्छ, त्यो परेको सबै मै बेहोरौंला । तपाईंहरू अघि बढ्नुहोस् ।’
यस्तो निर्देशन दिएको केही समयपछि प्रसाईंले देशको प्रचलित कानूनलाई नै चुनौती दिने गरी ‘कालोमोसो दस्ता’ नै गठन गरे । जसको उद्देश्य नै बैंक तथा वित्तीय संस्थाविरुद्ध गतिविधि सञ्चालन गरी मोसो दल्नु थियो । ०७९ फागुन १६ गते एनआइसी एसिया लघुवित्तका कर्मचारीमाथि मोसो दलेर प्रसाईंका समर्थकले ‘बहादुरी’ देखाए । जाजरकोटको भेरी नगरपालिकामा मासिक किस्ता उठाउन ऋणीकोमा जाँदै गर्दा ती कर्मचारी मोसोको सिकार भएका थिए ।
लघु वित्तका समस्या पहिल्याउने, गल्ती कमजोरी गरेका भए तिनलाई कारबाहीको दायरामा ल्याउने काम नियामक निकायका हैसियतले नेपाल राष्ट्र बैंक हो । राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेल लघु वित्तबारे अनुसन्धान गरेर त्यसबाट पत्ता लागेका समस्या समाधानमा आफूहरू लागिपरेको बताउँछन् ।
राष्ट्र बैंकले नजिकबाट नियमन गरेको निकायबारे प्रसाईं भने निरन्तर हमला गरिरहेका छन् । ग्रामीण महिलाको उद्यमीकरणमा सघाउनेदेखि स्रोत अभावमा व्यवसाय गर्नबाट रोकिएकालाई पुँजी उपलब्ध गराउनेलगायतका राम्रा काम गर्ने कैयन् लघु वित्त देशभर छन् । तर प्रसाईं केही खराब लघुवित्तलाई देखाएर यसरी प्रचार गरिरहेका छन् मानौं देशभर सञ्चालनमा रहेका सबै लघुवित्त ‘ठग’ र ‘खराब’ हुन् ।
नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. पोखरेल लघु वित्तमा समस्या भए पनि प्रचार गरिएको कुरा साँचो नभएको बताउँछन् । भन्छन्, ‘लघु वित्तमा समस्या हुँदै नभएको होइन, तर प्रचार गरिएजस्तो सबै लघुवित्त खराब भन्ने कुरा सही होइन ।’ उनले भने ।
प्रसाईंले भ्रमात्मक प्रचार गर्दा लघु वित्तहरूको विश्वास गिरेको छ । कतिपय लघु वित्तले राष्ट्र बैंकको निर्देशनविपरीत चर्को ब्याज असुलेर बदमासी गरे पनि प्रसाईं त्यसको भारी सबैलाई बोकाएर थाकेका छैनन् । एक लघु वित्त सञ्चालक एकाधले गरेको गल्तीमा सबैलाई प्रसाईंले भागिदार बनाएको गुनासो गर्छन् ।
लघु वित्तलाई पत्तासाप गर्ने उद्देश्यसहित अघि बढेका प्रसाईंको नजर पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा गढेको छ । एक वर्षअघि बैंक डुब्ने प्रक्षेपण गरेका उनले एक साताअघि नामै किटेर एउटा बैंक डुब्ने ठोकुवा नै गरिदिए । जबकि, बैंक तथा वित्तीय संस्थाको अवस्था खराब भएमा त्यसको घोषणा गर्ने राष्ट्र बैंकले नै उक्त बैंकको अवस्था प्रचार गरिएजस्तो नभएर सुदृढ रहेको बताइरहेको छ । खराब ढंगले कर्जा प्रवाह गरेकाले अन्य बैंकहरू कुनै पनि समय डुब्ने एकोहोरो रटान उनी लगाइरहेका छन् ।
पूर्व बैंकर भुवन दाहाल बैंकहरूको स्थिति प्रचार गरिएजस्तो खराब नभएर विगतभन्दा बरु सुदृढ बन्दै गएको जिकिर गर्छन् । बैंकको अवस्था विगतभन्दा धेरै राम्रो भएकाले अहिलेकै अवस्थामा कुनै हालतमा नडुब्ने उनले बताए । नेपालका सबै बैंक सुरक्षित रहेकाले ढुक्क भएर रकम बचत गर्न उनले निक्षेपकर्तालाई अनुरोधसमेत गरे ।
‘अहिले बैंकहरूको निष्क्रिय कर्जा चार प्रतिशत हाराहारी छ । उक्त चार प्रतिशतलाई पुग्ने लोन लस प्रोभिजन हरेक बैंकले छुट्याएर राखेको छ । राष्ट्र बैंकले जति जोखिम लिन्छौँ, जोखिमभारित सम्पतिको ११ प्रतिशत पुँजीकोष मेन्टेन गर्नुपर्छ भनेर भनेको छ । अहिले बैंकहरूको पुँजीकोष सबैभन्दा कम हुनेको ११.५ र बढी हुनेको १४/१५ प्रतिशतसम्म छ । बैंकहरूमा कुल जोखिमभारित सम्पत्तिको १५ प्रतिशत बराबरको क्षति भए पनि धान्न सक्ने अवस्था भएकाले बैंक कुनै हालतमा डुब्दैन,’ दाहालको तर्क छ ।
निष्क्रिय कर्जामा आएको वृद्धि, समग्र अर्थतन्त्रमा आएको सुस्तताले बैंकहरूलाई समस्यामा पारे पनि पुँजीकोषका कारण निष्क्रिय कर्जा २०–२५ प्रतिशत पुगे पनि बैंकहरूमा समस्या नआउने अर्को विश्लेषण पनि उनले सुनाए ।
अर्थविद् डा. नरबहादुर थापा त नियमनकारी बैंक (केन्द्रीय बैंक) को अधीनमा बसेका बैंकहरू डुब्ने भनेर कसैले प्रचार नगर्दा हुने बताउँछन् । कसैले आधारहीन तर्क गरेर बैंक डुब्न लागेको भने पनि त्यसले प्रणालीमा कुनै असर नपर्ने उनले तर्क गरे ।
‘राष्ट्र बैंकको नियमनमा रहेका बैंकमा अहिले कुनै समस्या छैन,’ उनले अगाडि थपे, ‘बैंक तथा वित्तीय संस्थाबारे गलत हल्ला फैलाइए पनि त्यसले हल्लाउनसम्म सक्दैन ।’
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल राष्ट्र बैंकले दिएको निर्देशनअनुरूप बैंकहरू सञ्चालनमा रहेकाले प्रसाईंको दाबीमा कत्ति पनि तुक नरहेको बताउँछन् । कोही व्यक्तिले हल्ला गर्दैमा नेपालको बैकिङ सिस्टम कमजोर नहुने पनि उनले प्रष्ट पारे ।
‘नेपालको बैंकिङ प्रणाली अन्तर्राष्ट्रिय सिद्धान्त आत्मसात गरेर अघि बढेको छ । कसैले हल्ला गर्दैमा केही हुँदैन,’ उनले अगाडि थपे ।
प्रसाईंले बैंकबारे भ्रम ज्यादा छरेपछि राष्ट्र बैंकले विज्ञप्ति जारी गरेर बैंकहरू सुरक्षित रहेको मात्रै प्रष्ट पारेको छैन ढुक्क भएर बचत गर्न सबैमा अनुरोधसमेत गरेको छ । नियामक निकायले तथ्य र प्रमाणसहित नेपालका बैंक खराब अवस्थामा छैनन भने पनि प्रसाईंले आफ्नो भ्रमको व्यापार छाडेका छैनन् । बरू तीव्रता दिइरहेका छन् ।
ऋणको पासोबाट फुत्कने दाउ
छोटो समयमा नै ठूलो व्यावसायिक फड्को मार्न सफल प्रसाईंले मेडिकल व्यवसायमा ठूलो लगानी खन्याएका छन् । झापास्थित बिएण्डसी हस्पिटल, क्यान्सर अस्पताल र इलामको एक होटलमा उनको लगानी छ । जसका लागि उनले बैंकबाट मोटो रकम कर्जा लिएका छन् ।
स्रोतका अनुसार, प्रसाईंले अस्पताल सञ्चालनका लागि चार अर्ब रूपैयाँभन्दा बढी र इलाममा सञ्चालन गर्ने भनिएको होटलका लागि ६५ करोड रूपैयाँभन्दा बढी रकम कर्जा लिएका छन् । प्रसाईंले लिएको यो ऋणको मासिक तिर्नुपर्ने ब्याज र सावाको किस्ता नै करोडौं हुन्छ । व्यवसायमा आएको मन्दीलगायत कारणले उनले बैंकको नियमित ब्याज र किस्ता तिर्न सकेका छैनन् । जानकारहरू उनले गत चैतदेखि नै बैंकको ब्याज र किर्ता नतिरेको बताउँछन् । लामो समयदेखि बैंकबाट लिएको ऋणको ब्याज र किस्ता नतिरेको र तिर्ने अवस्था पनि नरहेकाले प्रसाईं देशको समग्र बैंकिङ प्रणाली असफल बनाएर त्राण लिने दाउमा रहेको बताइन्छ ।
‘प्रसाईंले लामो समयदेखि बैंकबाट लिएको ऋणको ब्याज र किस्ता तिर्न सकेका छैनन्,’ एक बैंकर भन्छन्, ‘सावा र ब्याज बढ्दै गएकाले उनले तिर्ने उपाय छैन । त्यसैले उनी जति जति सावा र ब्याज बढ्छ, उति उग्र हुन्छन् । उनले अहिले मच्चाएको हल्लाको सतहमा एउटा कुरा देखिए पनि त्यसको अन्तर्य भने उनले लिएको ऋण नै हो ।’
प्रसाईंले देशको समग्र बैंकलाई संकटमा पारेर ऋणको जालबाट उम्कने प्रपञ्च रचे पनि त्यो सफल नहुने पनि ठोकुवा गरे । ‘प्रसाईंज्यूले समग्र बैंकिङ प्रणाली तहसनहस गरेर बैंकबाट लिएको ऋण नतिर्ने प्रपञ्च रचेका छन्, त्यो उनको दिवास्पन्न मात्र हो,’ ती बैंकरले भने । बैंकमा जनताले राखेको पैसामा दाह्रा धरेर प्रसाईंले आफ्नो मनसुवा पूरा गर्ने चाल रचे पनि आममानिस वास्तविकता नबुझेर दिग्भ्रमित भएको उनले गुनासो गरे ।
यद्यपि, प्रसाईंले आफूमाथि लागेको यस्ता आरोपहरूको खण्डन गर्दै आएका छन् । आफूले ऋण लिँदा पर्याप्त धितो राखेकाले नतिरेको अवस्थामा त्यसैबाट नियमानुसार असुल गर्न उनले चुनौती दिँदै आएका छन् । प्रसाईंले यस्तो दाबी गर्दै आएका भए पनि उनले शक्ति र पहुँचका भरमा कम धितोलाई बढी देखाएर ऋण लिएको स्रोत बताउँछ ।
सरकार तमासे
नेपालका सहकारीले इतिहासमै पहिलो पटक आफ्नो विश्वास गुमाएका छन् । सहकारी संकटका एक मात्र नभएर अनेक कारण छन् । प्रसाईं भ्रमको साहरामा सहकारीजस्तै गरी बैंक पनि डुब्न लागेको प्रचारमा मखलेल छन् । उनले बैंक डुब्न लागेको भाष्य जबरजस्तै बनाउँदै आफ्नो रकम निकाल्न निक्षेपकर्तालाई उर्दी नै जारी गरिरहेका छन् । एकातिर निक्षेपकर्ता र ऋणीको सहानुभूति बटुलिरहेका उनी अर्कातिर भने उनै जनताले खाइ नखाइ बैंकलगायत वित्तीय संस्थामा जम्मा गरेको रकमबाट प्रवाह भएको ऋण नतिरे पनि हुने उपदेश हाकाहाकी बाँडिरहेका छन् ।
झुट कुरा सयौंले भन्दा सत्य जस्तै ठानेर मानिस भ्रमित हुने भएकाले बैंक तथा वित्तीय क्षेत्रका जानकारहरू प्रसाईंको दुश्प्रचारबाट चिन्तित देखिएका छन् । प्र्रसाईंले वित्तीय अराजकता फैलाएकाले कानूनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।
प्रसाईंले बैंक तथा वित्तीय संस्थामाथिको आक्रमण घनिभूत पारेको एक वर्ष गुज्रनै लागेको छ । उनी बैंक तथा वित्तीय संस्थामा मात्र केन्द्रित नभएर निर्लज्जसँग नश्लीय अभिव्यक्ति पनि दिइरहेका छन् । दसैँपछि १६ मारवाडी परिवारलाई देशबाटै लखेट्ने उग्र, अराजक र उत्तिकै अमानवीय अभिव्यक्ति दिएका थिए । दुर्गा प्रसाईं ‘डामेर छाडिएको साँढे’ बिर्साउने गरी उग्र बनिरहे पनि सरकार रमिते भनेर बसिरहेको छ ।
हामीले सुरुमा प्रसाईंलाई उन्मुक्ति दिएको विषयमा नेपाल नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखरेलसँग जिज्ञासा राखेका थियौं । जवाफमा उनले वित्तीय अराजकता फैलाउँदै हिँडेका प्रसाईंलाई कारबाही गर्ने क्षेत्राधिकार राष्ट्र बैंकको नभएको बताए ।
‘दुर्गा प्रसाईंलाई कारबाही गर्ने अधिकार राष्ट्र बैंकको क्षेत्राधिकारभित्र पर्दैन । हामीले औपचारिक/अनौपाचारिक रूपमा यस्तो घटना नहोस् भन्ने मात्रै हो,’ उनले भने ।
बैंकबारे फैलाइएको हल्ला सम्बन्धमा राष्ट्र बैकले विज्ञप्ति नै जारी गरेर यस्ता हल्लाको पछि नलाग्न र ढुक्कले कारोबार गर्न सूचित गरिसकेको पनि उनले स्मरण गराए ।
प्रसाईंलाई हुनसक्छ जेल सजाय
प्रसाईंले मौजुदा कानूनले अपराध ठहर गरेको कर्तुत गरिरहेकाले कसैले उजुरी दिएको खण्डमा विभिन्न कानून आकर्षित हुने जानकारहरू बताउँछन् ।
अधिवक्ता शशी मरासिनीका अनुसार, प्रसाईंले अहिले गरिरहेको गतिविधिमा पहिलो नम्बरमा गाली बेइज्जतीसम्बन्धी कानून आकर्षित हुन्छ ।
मुलुकी अपराध संहिता, २०७४ को भाग ३ मा गाली बेइज्जतीसम्बन्धी कसूरबारे दफाबार रूपमा उल्लेख गरिएको छ ।
उक्त ऐनको दफा ३०५ देखि दफा ३०८ मा कसैलाई गाली तथा बेइज्जती गर्न नहुने र गरेमा हुने कैद, जरिवाना वा दुवै हुने व्यवस्था छ । यदि कसैले त्यस्तो गरेमा त्यस्ता व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रूपैयासम्म जरिवाना वा दुवै सजाय हुनेछ भनिएको छ ।
त्यस्तै ३०७ मा बेइज्जती गरेमा हुने सजायहरु उल्लेख गरिएको छ । (१) कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा बीस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । तर विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप एक बर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ । (२) कसैले कसैलाई बेइज्जती गरे वा गराएको ठहरिएमा बेइज्जती गरिएको व्यक्तिलाई कसूरको गम्भीरता, त्यस्तो व्यक्तिको प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरेको भएमा त्यस्तो कुरा समेतलाई विचार गरी कसूरदारबाट मनासिव क्षतिपूर्ति र त्यस्तो व्यक्तिलाई कसूरदारबाट मुद्दामा लागेको खर्च समेत भराउनु पर्ने उल्लेख छ । (३) मरिसकेको कुनै व्यक्तिलाई यस परिच्छेद बमोजिम बेइज्जती गरेको ठहरिएमा कसूरदारबाट त्यस्तो बेइज्जतीबाट भावनामा चोट लागेको निजको नजिकको हकवालालाई त्यस्तो क्षतिपूर्ति र मुद्दामा लागेको खर्चको रकम भराई दिनु पर्नेछ भनी उल्लेख छ ।
त्यस्तै कुनै पनि सामाजिक सञ्जालको प्रयोग गरेर कसैको मान प्रतिष्ठानमा आच पुर्याउन खोजिएको भए त्यस्तो अवस्थामा विद्युतीय कारोबार ऐन पनि आकर्षित हुन्छ । प्रसाईंले सामाजिक सञ्जालको प्रयोग गरेर भ्रमात्मक प्रचार गरेकाले विद्युतीय कारोबार ऐन, २०६३ को परिछेद ९ को दफा ४४, ४५, ४६ र ४७ लाई टेकेर प्रहरीले मुद्दा चलाउन सक्छ ।
विद्युतीय कारोबार ऐन, २०६३ मा उल्लेख भएअनुसार कसूरदातालाई बढीमा ५ वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्नेछ । तर कसूरदाताले एकभन्दा धेरै कसूर गरेको खण्डमा भने कानुनमा उल्लेख भए अनुसारका अन्य कसूर आकर्षित हुने कानून व्यवसायी बताउँछन् ।
अधिवक्ता अनुपम भट्टराईका अनुसार माथि उल्लिखित कानून सम्बन्धित व्यक्ति वा संस्थाले उजुरी दिएपछि मात्रै आकर्षित हुन्छ । ‘यो केही नयाँ विषय पनि हो । त्यसैले एउटा मात्रै आकर्षित हुन्छ भन्ने प्रष्ट कानुन छैन,’ उनले भने, ‘कानूनमा उल्लेख भएअनुसारले सजाय दिनको लागि पनि सम्बन्धित व्यक्ति वा संस्थाले प्रक्रिया पु–याएर उजुरी दिनुपर्छ ।’
सरकारले किन कमाइरहेको छ खुट्टा ?
दुर्गा प्रसाईं सुरुमा माओवादी केन्द्रसँग नजिक थिए । उनलाई नजिकबाट चिन्नेहरू ससुरालीको सम्पत्ति हत्याउन उनी सो पार्टीमा लागेको र त्यहीँबाट उनको तीव्र उत्थान भएको दाबी गर्छन् ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग एक समय निकै नजिक रहेका उनले केपी शर्मा ओली र उनलाई मिलाउन सँगै बसाएर मार्सी चामलको भोजन नै गराएका थिए । जुन अद्यपि, ‘मार्सी काण्ड’का नामले परिचित छ ।
एमाले र माओवादी केन्द्रको एकीकरणपछि नेकपा बन्यो । प्रचण्डलगायत अन्य माओवादीसँगै प्रसाईं पनि त्यही पार्टीमा मिसिएका थिए । पछि सर्वोच्च अदालतले दुई पार्टी अलग्याइ दिएपछि भने उनी माओवादीतिर नलागी एमालेतिरै लागे ।
एमालेतिर लागेपछि उनी ‘हजुरबुवा’ नाता लगाएर ओलीको प्रशंसा गर्थे । कतिसम्म भने उनी ओली राजनेता भएको र उनीबाहेकले देश समृद्ध पार्न नसक्ने बताउँथे । एमालेको गत महाधिवेशनमा उनी कैयन् वर्ष सो पार्टीमा लगानी गरेकालाई पन्छाएर केन्द्रीय सदस्य पद नै हत्याउन सफल भए । प्रसाईंले आफ्नो कदर गरेर केन्द्रीय सदस्य बनाइएको दाबी गरिए पनि ओलीको प्रशंसाको ब्याज भएको चर्चा त्यतिबेला एमाले पार्टी र राजनीतिक वृत्तमा चलेको थियो । तर हजुरबुवासँग पनि उनको दोस्ती लामो चलेन ।
ओली र प्रचण्डसँग लामो समय साँठगाँठ रहेकाले तिनका भित्री कुरा प्रसाईंलाई थाहा भएको बताइन्छ । अहिले प्रसाईंले बबण्डर मच्चाउँदा पनि उनलाई अनदेखा गर्नुको कारण यहीभित्र खोज्नुपर्ने माओवादी केन्द्रका एक नेता बताउँछन् ।
‘हिजो प्रसाईंलाई आफ्ना चोटा–कोठामा पहुँच दिँदा आन्दाभुँडी थाहा पाएका छन्,’ माओवादीका ती नेताले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘आफ्नाबारे केही खुलासा गरिदेला कि भन्ने डरले उनले मनपरी गरिरहे पनि सरकार र दलका नेता रमिते बनेका छन् ।’
एमालेबाट बाहिरिएपछि प्रसाईंले उल्टो गंगा बगाउने दुस्वप्न देख्दै हिन्दू राज्य कायम हुनुपर्ने र राजतन्त्र फर्कंनु पर्ने वकालत गर्दै आएका छन् । सँगै उनले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर नतिर्ने नियत पालेका उनीजस्तैलाई ऋण तिर्नु नपर्ने भन्दै ललीपप देखाएका छन् । यिनलाई आफूतर्फ खिचेर प्रसाईंले पटक पटक शक्ति प्रदर्शन गरिरहेकाले त्यो शक्तिबाट खतरा उत्पन्न हुने अर्को भयमा पनि सरकार छ ।
प्रतिक्रिया