NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

देउवापुत्र जयवीरले किने चार वर्षमा करिब १ अर्ब रुपैयाँको ७३ रोपनी जग्गा

के हो जयवीरको आम्दानीको स्रोत ?

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सांसद आरजु राणा देउवाका पुत्र जयवीर सिंह देउवाका नाममा पाँच वर्षमा ७३ रोपनी जग्गा खरिद भएको पाइएको छ ।

काठमाडौंको चपलीदेखि, बर्दियाको ढोढरी र कास्कीको ढिकुरपोखरी लगायतका ठाउँमा ती जग्गा खरिद भएको हो । चलनचल्तीको बजार भाउमा खरिद भएका यी जग्गाको अनुमानित मूल्य एक अर्ब भन्दा बढी हुन आउँछ ।

नेपालवाचलाई प्राप्त विवरणअनुसार वि.स २०७४ देखि २०७८ को अवधीमा छोरा जयवीरको नाममा ती जग्गा खरिद भएका छन् । तर यो अवधिमा जयवीरको आम्दानी खुल्ने कुनै सम्पत्तिको स्रोत भेटिदैनन् ।

जयवीर सिंह देउवाका पिता शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन् । यस्तै उनकी आमा आरजु राणा सांसद तथा कांग्रेस नेतृ हुन् ।

जयवीरले ४ वर्षमा अर्बाै‌काे जग्गा खरिद गरिरहँदा त्यसको स्रोत के हो भन्नेबारे पूर्व प्रधानमन्त्रीका रूपमा देउवा र आरजु दुवैले खुलाएका छैनन् ।

देउवा दम्पती दुवैले सरकारलाई बुझाएको सम्पत्ति विवरणमा छोराको नाममा खरिद भएको यी जग्गाको नाम निशाना भेटिन्न ।

सरकारलाई बुझाएको सम्पत्ति विवरणमा देउवा परिवारको नाममा नियमित देखिने आम्दानीको स्रोत छैन । दुवैजना राजनीतिमै पूर्ण रूपमा सक्रिया छन् । कुनै उद्योग, व्यापार नभएको एउटा नेताको परिवारले तीन बर्षमा करिब १ अर्ब बढीको सम्पत्ति जोडेको विषयमा प्रश्न उठेको छ ।

कहाँ–कहाँ कति जग्गा जोडियो ?

प्राप्त विवरणअनुसार २०७४ चैत १४ गते काठमाडौंको चपलीमा झण्डै दुई रोपनी जग्गा खरिद गरिएको छ । जयवीरको एकलौटी हक लाग्नेगरी व्यवसायिक तथा बसोबासको उक्त क्षेत्रमा कित्ता नं २२, ३८६, ३९९ र ४७९ रहेको जग्गा जयवीरको नाममा खरिद गरिएको हो । ती जग्गाको कुल क्षेत्रफल ९६६ वर्गमिटर रहेको छ । अहिलेको प्रचलित बजार मूल्यअनुसार त्यो जग्गालाई न्युनतम १२ करोड रुपैयाँ पर्छ ।

त्यसपछि २०७७ देखि २०७८ सम्म खरिद भएका अधिकांश जग्गा कास्कीको ढिकुरपोखरीको छ । त्यहाँ उनले २२ रोपनी भन्दा बढी क्षेत्रफलको जग्गा खरिद गरेका छन् । एक वर्षको अवधीमा खरिद गरिएका यी सबै जग्गा दुई अधिकारी परिवारको नामबाट जयवीरको नाममा नामसारी भएका छन् ।

प्राप्त विवरणमा देखिएअनुसार २०७७ देखि ०७९ सम्म जयवीरको नाममा ढिकुरपोखरीको कित्ता नंबर १९१८, १९१९, १९२०, १९२१, १९१८, १९२०, १९२१, १९१९, २२, ३८६, ३९९, ४७९ का जग्गा नामसारी भएका छन् ।

स्थानीय देवका अधिकारीको नाममा रहेको ती जग्गाहरू जयवीरको नाममा सारिएको हो । यसरी जयवीरको नाममा करिब ९ महिनामा पोखराको २२ रोपनी जग्गा खरिद गरिएको छ ।

पोखरामामात्रै हैन, जयवीरको नाममा बर्दियामा पनि सोही समयावधीभित्र जग्गा खरिद भएको छ । जयवीरकै नाममा २०७५ सालमा सुदुरपश्चिम नेपालको बर्दियामा २५ हजार ८४ बर्ग मिटर क्षेत्रफलको जग्गा खरिद गरिएको छ । कित्ता नं २०८ र ३११ रहेका ती जग्गा एकै दिन किनिएको हो ।

कोरोना महामारीपछि नेपाल फर्किएका छोरा जयवीरका नाममा धमाधम जग्गा खरिद कसरी गरियो ? यसको स्रोत खुलाइएको छैन । बेलायतमा रहँदै आएका जयवीर नेपाल फर्किएको छोटो समयमै उनको नाममा यत्तिका सम्पत्ति जोडिएको हो । यद्यपि उनले बेलायत बसेर पनि यत्तिका घडेरी जोड्ने हैसियत बनाउनेगरी उल्लेख्य काम गर्न नसकेको निकटस्थहरूको भनाई छ ।

देउवाले यत्तिको छोटो समयमा त्यत्रो जग्गा कहाँबाट किने भन्नेबारे कुनै स्रोत देखाउन सकेका छैनन् । त्यसैले यो जग्गाको विवरण पनि देउवाले सम्पत्ति विवरणमा देखाएका छैनन् । सांसदको रुपमा आरजु राणाले पनि यो जग्गालाई सम्पत्ति विवरणमा देखाएकी छैनन् ।

देउवा प्रधानमन्त्री हुँदा पेश गरेको सम्पत्ति विवरणमा यो जग्गाको विवरण उल्लेख छैन । प्रधानमन्त्रीपछि संसदको रुपमा पेश गरेको सम्पत्ति विवरणमा पनि यी जग्गा उल्लेख छैन ।

कतै पनि स्रोत नखुलाइएका यी जग्गा गैरकानुनी र भ्रष्टाचारबाट प्राप्त भएको आशंका गरिएको छ । किनभने सम्पत्ति विवरण पेश गर्ने कानूनअनुसार आफ्नो, श्रीमती, बाबुआमा र छोरा छोरीको नाममा रहेको प्रत्येक सम्पत्ति र त्यो सम्पत्ति खरिद गर्दाको आयस्रोत स्पष्ट देखाउनुपर्छ ।

देउवा परिवारले बैधानिक रुपमा कुन आर्थिक स्रोतबाट ती सबै सम्पत्ति प्राप्त गर्यो भनेर खुलाउन सक्ने आधार केही छैन ।

विवादित विगत

नेपाल फर्किएको धेरै समय नभएपनि जयवीर विवादबाट अछुतो छैनन् ।

उनको लगानीमा सञ्चालन भइरहेको कम्पनी ब्लूप्रिन्ट ट्रेडिङ प्रा.लिले सेनिटरी प्याड आयात गर्न करको दर नै हेरफेर भएको विषय चर्चामा आइसकेको छ । यो कम्पनीमा उनीसँगै भरतपुरका हेमन्त बजगाईंको पनि पार्टनरसिप छ ।

स्यानिटरी प्याडमा उनको कम्पनीको एकाधिकार रहने व्यवस्था मिलाउकै लागि बजेटमार्फत नै यसको सुनिश्चितता हुने पक्का भइसकेको थियो । आर्थिक वर्ष २०७९/८० को बजेटमा जयवीरको कम्पनीलाई पोस्नकै लागि विदेशबाट आयात हुने सेनिटरी प्याडमा ९० प्रतिशत भन्सार छुट हुनेगरी व्यवस्था गरियो । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत नै घोषणा गरे ।

यो घोषणा हुनेवित्तिकै जयवीरको कम्पनीबाट ४० कन्टेनर अर्थात ८ करोड थान प्याड चीनबाट अर्डर भएको समाचार सम्प्रेषण भएका थिए । यसबारे चर्को विरोध तथा आलोचना भएपछि कम्पनीले बच्चाको डाइपरमात्रै आयात गर्ने गरेको भन्दै ब्लूप्रिन्ट प्रा.लिले स्पष्टोक्ति दिएको थियो । तर अहिले पनि स्यानिटरी प्याड आयातमा सोही कम्पनीको रजगज रहेको जानकारहरू बताउँछन् ।

जग्गा कारोबारमात्रै होइन नेपाल फर्किएको छोटो समयमै जयवीरको नाममा विभिन्न कम्पनीको सेयर पनि ‘ट्रान्स्फर’ भइसकेको छ । कम्पनी रजिस्टारको कार्यालयमा भएको विवरणमा जयवीरको नाममा पश्चिम गोदावारी मिनिरल वाटर, ब्लूप्रिन्ट ट्रेडिङ, मण्डला डिजाइन होल्डिङ्सलगायतमा सेयर रहेको देखिन्छ ।

थाम्लान् देउवाको राजनीतिक विरासत ?

सुदूरपश्चिमको डडेल्धुराबाट आफ्नै क्षमतामा राजनीतिमा आएका शेरबहादुर देउवाले अन्ततः छोरालाई नै आफ्नो राजनीतिक उत्तराधिकारीको रूपमा अघि सार्न खोजेको देखिन्छ ।

आगामी चुनावसम्म देउवाले जयवीरलाई नै अघि सारेर चुनावमा होमिन सक्ने सम्भावना यीनै दृष्टान्तहरूले पनि संकेत गरेका छन् । श्रीमती आरजु पनि त्यसका लागि हर हिसाबले तत्पर नै देखिन्छिन् । किनभने उनी आफैंले छोरा जयवीरलाई राजनीतिकदेखि व्यापारिक गतिविधिमा सक्रिय बनाउन थालेकी छिन् ।

देउवा दम्पतीले छोरालाई राजनीतिको हिस्सा बनाउन खोजेकोबारे उनलाई अहिलेदेखि आर्थिक रूपमा बलियो बनाउन भइरहेको प्रयासले पनि संकेत दिन्छ । बेलायतबाट फर्किएपछि जयवीरले २०७७ चैतमा कांग्रेसको क्रियाशील सदस्यता पाइसकेका छन् । सार्वजनिक मञ्चमा खासै नदेखिने जयवीरको राजनीतिप्रतिको व्यक्तिगत चाहना के हो भन्नेबारे खुलिसकेको छैन ।

उनी आफैंले यसबारे सार्वजनिक रूपमा अभिव्यक्ति दिएका पनि छैनन् । उनी आम सर्वसाधरणको पहुँच हुने सामाजिक सञ्जालबाट पनि टाढै छन् ।

तर लामो समयसम्म बेलायत बसेका उनलाई व्यापार व्यवसाय सँगसँगै राजनीतिमा पनि सक्रिया बनाइनुले देउवा दम्पतीले छोरामाथि विरासत थाम्ने मियोको रूपमा विश्वास गरिसकेको देखिन्छ ।

 हेर्नुहोस् यो पनि  :

सत्ताको चास्नीमा आरजुको राइँदाइँ : जहाँ द्रव्य, त्यहाँ टुप्लुक्क