एसइई नतिजा सुधारका लागि शिक्षण सहजकर्ता नियुक्त गर्दै कामपा
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न अनिवार्य पाँच विषयका लागि शिक्षण सहजकर्ता नियुक्त गर्ने भएको छ ।
यस वर्ष एसइईमा सहभागी विद्यार्थीको सिकाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले माध्यमिक तहका विद्यालयमा अनिवार्य पाँच विषयका लागि अनुभवि विज्ञ सहजकर्ता र शिक्षण सहयोगी परिचालन गर्न लागिएको महानगरका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए ।
शिक्षण सहजकर्ताका लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकाश भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न सङ्घसंस्थामा काम गरेको कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्ने बताइएको छ ।
सहजकर्ताका लागि गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषय अध्यापन गराउन प्रत्येक विषयका लागि पाँच÷पाँच जना आवश्यक रहने कामपाले जनाएको छ । दुई महिनासम्मका लागि नियुक्त गर्न लागिएको शिक्षण सहजकर्ताका लागि मासिक रु ३७ हजार पाँच सय पारिश्रमिक उपलब्ध गराइनेछ ।
त्यसैगरी शिक्षण सहयोगीका लागि गणित विषयका ६० र विज्ञान विषयका ६० जना आवश्यकता रहेको जनाइएको छ । सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा दुई वर्ष शिक्षण अनुभव भएको व्यक्ति हुनुपर्नेछ । सहयोगीका लागि पारिश्रमिक १५ हजार तोकिएको छ ।
प्रमुख सुवेदीका अनुसार कामपाले यसका लागि बुधबार सूचना सार्वजनिक गरेको छ । सूचना सार्वजनिक भएको सात दिनभित्र योग्यता पुगेका व्यक्तिले आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
हाल कामपामा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया