भण्डारीनिवास ग्यास विस्फोट : सानो असावधानीले निम्त्याएको विपत्ति
काठमाडौं । सिलिन्डर ग्यास विस्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी घाइते भएका छन् ।
बुद्धनगरस्थित निवासमा गएराति ग्यास सिलिन्डर विस्फोट हुँदा नेता भण्डारीसहित उनकी आमा घाइते भएका हुन् ।
नेता भण्डारी आमासहित परिवारका सदस्यसँग उक्त निवासमा केही वर्षदेखि बस्दै आएका थिए । विस्फोटका बेला परिवारका अन्य सदस्य त्यहीँ थिए वा बाहिर, प्रहरीले केही खुलाएको छैन ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले घटना लगत्तै प्रहरी टोली घटनास्थल पुगे पनि विस्तृत विवरण आफूसमक्ष आइनसकेको जानकारी दिए ।
घाइते भण्डारी र उनकी आमाको अहिले कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार चलिरहेको छ ।
विस्फोटबाट भण्डारीको आमालाई सबैभन्दा धेरै असर गरेको बताइएको छ । उनको शरीरको करिब ७० प्रतिशत भाग जलेको चिकित्सकको भनाइ उद्धृत गर्दै भण्डारीको सचिवालयले जनाएको छ । भण्डारीको पनि शरीरको २५ प्रतिशत भागमा असर पुगेको छ । प्रवक्ता पोखरेलले भण्डारीको अवस्था खराब रहेको नेपालवाचसँग बताए ।
कसरी भयो घटना ?
घटनालगत्तै भण्डारीको निवास पुगेको प्रहरीले यसबारे अनुसन्धान थालेको छ ।
प्रहरीको अनुसन्धानले असावधानीका कारण घटना हुन पुगेको देखाएको छ । प्रहरीका अनुसार, भण्डारीको किचनमा रहेको ग्यास पहिलेदेखि नै खुला छाडेको भेटिएको छ ।
पहिलेदेखि नै भुलवश खुला रहेको ग्यास असावधानीवश खोल्न लाग्दा उक्त घटना हुन पुगेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले नेपालवाचलाई जानकारी दिए ।
‘उहाँहरूको किचन रूममा पहिले नै बिर्सिएर ग्यास खुला छाडिएको रहेछ । तर उहाँहरूले थाहा पाउनुभएन र ग्यास बाल्नुभयो । त्यसैक्रममा एक्कासि ग्यास विस्फोट भयो,’ प्रवक्ता पोखरेलले बताए ।
विस्पोटबाट पुगेको क्षतिलगायत अन्य विस्तृत विवरण आउन भने बाँकी रहेको पोखरेलले जानकारी दिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया