NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार १ गते

वन्यजन्तुका कारण गहुँखेतीमा ह्रास

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको कावासोती–११ का फेमनारायण पौडेलले आफ्नो खेतबारीमा गहुँको खेती गर्न छाड्नुभएको करिब पाँच वर्ष पुग्यो । नजिकैको निकुञ्जबाट निस्किने वन्यजन्तु विशेषगरी गैँडाले बाली लाग्नुअगावै सखाप पार्ने क्रम नरोकिएपछि पछिल्लो समय उहाँले आफ्नो खेतबारीमा गहुँखेती नै गर्न छाडेका हुन् ।

पौडेलजस्तै पूर्वी नवलपरासीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका अधिकांश किसानले खेतबारीमा गहुँखेती गर्न छाडेका हुन् । जिल्लाको दक्षिण क्षेत्र माटो तथा हावापानीका हिसाबले गहुँ उत्पादनका लागि उपयुक्त मानिएको भए पनि निकुञ्ज र आसपासको मध्यवर्ती क्षेत्रबाट निस्किने गैँडालगायतका वन्यजन्तुको त्रासका कारण गहुँखेतीमा कमी आएको छ । केही वर्षअघि उत्पादन गरेको गहुँ घरायसी प्रयोजनमा प्रयोग गरेर रहेको बिक्री गर्ने गरेका किसान अहिले गहुँका लागि बजारको भर पर्नुपरेको छ ।

बाली नलाग्दैको हरियो अवस्थाको गहुँको खेत भेट्टाउँदा एकसिङ्गे गैँडा केही पनि बाँकी नराखी चर्ने गरेको पौडेल बताउछन् । ‘सधैँ खेतमा मचान बनाएर कुर्न पनि सकिन्न, हरियो गहुँ पायो भने गैँडाले फेदसम्मै खाइदिन्छ, त्यसपछि गहुँको उत्पादन त के घाँस पनि हुदैन,’ उनले भने ।

निकुञ्जबाट निस्कने वन्यजन्तुले खेतीबाली नष्ट गरे क्षतिपूर्ति पाइने व्यवस्था भए पनि न्यून क्षतिपूर्ति र झन्झटिलो प्रक्रिया हुँदा किसान मारमा पर्ने गरेका कावासोती–१२ का राजेश लम्सालले बताए । ‘दुःखले लगाएको खेती गैँडाले खाइदिन्छ, क्षतिपूर्ति समयमा पाइन्न, पाइहाले पनि साह्रै थोरै पाइन्छ, वन्यजन्तुको भरपर्दो समाधान नहुँदासम्म खेती गरेर बाँच्न गाह्रो भयो,’ उनले भने। विशेषगरी एकसिङ्गे गैँडाले गहुँ कलिलो अवस्थामा अत्यधिक रुचाउने भएकाले निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट निस्किने गैँडा गहुँखेती खोज्दै किसानको खेतबारीमा आइपुग्ने गरेको लम्सालले बताए ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा गहुँखेती गर्ने किसानको सङ्ख्या क्रमशः घटदै गएको कृषि ज्ञान केन्द्रका पूर्वी नवलपरासीका सूचना अधिकारी शङ्कर पौडेलले बताए । मध्वर्ती क्षेत्रका किसानले लगाएको गहुँखेती गैँडालगायतका वन्यजन्तुले नष्ट पार्ने क्रम बढेकाले यो क्षेत्रमा गहुँखेती घटदै गएको पौडेल बताउछन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा गहुँखेती गर्ने किसान घट्दै गए पनि उत्तरी क्षेत्रमा भने गहुँखेती हुने गरेको पौडेलले बताए । उनका अनुसार जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा सात हजार चार सय ४० हेक्टर जमिनमा २० हजार नौ सय ३० मेट्रिक टन गहुँ उत्पादन भएको थियो । चालु २०७९/८० मा सात हजार चार सय ४५ हेक्टर जमिनमा २१ हजार दुई सय १८ मेट्रिक टन गहुँ उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष