फेब्रुअरीमा ७३ हजार बढी पर्यटक नेपाल भित्रिए
काठमाडौं । अङ्ग्रेजी वर्ष सन् २०२३ को फेब्रुअरी महिनामा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार वर्षको दोस्रो महिना हवाई मार्ग भएर ७३ हजार दुई सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जनवरी महिनामा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।
अघिल्लो वर्ष सन् २०२२ को फेब्रुअरीमा १९ हजार सात सय ६६ पर्यटकको नेपाल आगमन भएको थियो । सन् २०२१ को सोही महिनामा नौ हजार एक सय ४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
पछिल्ला दिनमा विदेशी पर्यटक आगमन उत्साहबर्द्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । फेब्रुअरीमा भारतबाट १८ हजार चार सय एक पर्यटक आएका छन् । अमेरिकाबाट सात हजार आठ सय ८७ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
त्यस्तै, थाइल्याण्डबाट चार हजार आठ सय दुई, दक्षिण कोरियाबाट तीन हजार दुई सय ४६, अष्ट्रेलियाबाट दुई हजार नौ सय ६९, चीनबाट दुई हजार दुई सय ६६, म्यानमारबाट दुई हजार दुई सय ३२, श्रीलङ्काबाट दुई हजार एक सय १७ र जर्मनीबाट दुई हजार एक सय आठ पर्यटक नेपाल भित्रिएका छन् ।
प्छिल्लो तथ्याङ्कले महामारीपछि फेब्रुअरी महिनामा हालसम्मकै उल्लेख्य सङ्ख्यामा पर्यटक आएको देखिन्छ । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो । उक्त वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए ।
तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया