मुख्यमन्त्री अधिकारीले आज दोस्रोपटक विश्वासको मत लिँदै
गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले दोस्रोपटक विश्वासको मत लिँदै छन्। आज अपराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ । ६० सदस्यीय प्रदेशसभाको विश्वास लिन मुख्यमन्त्रीलाई ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । गत पुस २५ मा एमालेसहित माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका थिए ।
मुख्यमन्त्री अधिकारीले संवैधानिक व्यवस्थाको पूर्ण पालना गर्दै आफूले २९औं दिनमा विश्वासको मतको सामना गर्न लागेको बताए । प्रदेशसभाको अङ्कगणित हेर्दा उनले विश्वासको मत पाउने सम्भावना भने कम देखिन्छ । सरकार गठनका लागि निर्णायक माओवादी केन्द्रले समर्थन फिर्ता लिएर नेपाली कांग्रेससँगको गठबन्धनमा पुगेको छ ।
प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ (सभामुखसहित), राप्रपाका दुई र एक स्वतन्त्र सदस्य छन् । मुख्यमन्त्री अधिकारी विश्वासको मत प्राप्त गर्न नसके स्वतः पदमुक्त हुनेछन् । वर्तमान सरकार ढलेपछि संवैधानिक व्यवस्था अनुसार नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया