साउनदेखि श्रम स्वीकृतिमा स्वचालित प्रणाली
काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि श्रम स्वीकृतिमा स्वचालित प्रणाली लागू गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ साउनदेखि लागू हुने गरी संस्थागत श्रम स्वीकृति स्वचालित प्रणालीमार्फत प्रदान गर्ने भएको हो । यसका लागि वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन सिस्टम (फेमिस)को प्रयोग गरिनेछ ।
नयाँ व्यवस्थाअनुसार म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा जाने कामदारले पहिलो तथा अन्तिम श्रम स्वीकृति लिनुपरेमा कम्पनीले फेमिस सिस्टममा सबै आवश्यक कागजपत्र भर्नेछ । फेमिसले छानबिन गरेपछि कागजपत्र सबै ठकी भएमा सिस्टमले नै प्रमाणीकरण गर्ने मन्त्रालयका श्रमसविच एकनारायण अर्यालले बताए । त्यस्तै, व्यक्तिगत श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागअन्तर्गत रहेको श्रम कार्यालयको एउटै तहले नै प्रमाणीकरण गर्ने व्यवस्था गरिनेछ । आगामी दिनमा व्यक्तिगत श्रम स्वीकृतिलाई पनि स्वचालित प्रणालीमार्फत नै प्रमाणीकरण गर्ने व्यवस्था गरिने उनले बताए ।
हालको व्यवस्थाअनुसार संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिन फेमिसमार्फत अनलाइनबाट नै निवेदन दिन सकिनेछ । तर, यसरी दिइएको निवेदनलाई श्रम कार्यालयले प्रमाणित गर्नेछ । तर, स्वचालित प्रणाली लागू भएपछि कार्यालयका कर्मचारीले श्रम स्वीकृतिका लागि परेको निवदेनको छानबिन गर्नुपर्नेछैन । सिस्टमले नै प्रक्रिया पूरा गर्नेछ ।
गलत सूचना राख्नेलाई हदैसम्मको कारबाही
श्रम मन्त्रालयले श्रम स्वीकृतिका लागि स्वचालित प्रणाली लागू गरेसँगै म्यानपावर व्यवसायीलाई थप जिम्मेवार बनाएको छ । नक्कली कागजपत्र र झुटो विवरण भरेको पाइएमा हदैसम्मको कारबाही गरिने वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले बताए । ‘स्वचालित भए पनि केही समय कार्यालयका कर्मचारीले कागजपत्रको निरन्तर निगरानी राख्नेछन् । व्यवसायीले गलत विवरण राखेको भेटिएमा कारबाही गरिनेछ,’ उनले भने । स्वचालित प्रणालीले श्रम स्वीकृतिको प्रक्रियालाई सरल र पारदर्शी बनाउने विभागका महानिर्देशक दाहालले बताए । सरकारको डिजिटल गभर्नेन्स नीतिलाई पछ्याउँदै विभागले पनि स्वचालित प्रणालीलाई अँगालेको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया