NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

दिउँसो भागबन्डा मिलाएर साँझ मात्रै सपथ लिने

काठमाडौं। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको सपथ ग्रहणको कार्यक्रम सारिएको छ ।

बुधबार बिहान साढे १० बजे हुने भनिएको शपथ ग्रहणको कार्यक्रम ५ बजेलाई सरेको छ। गठबन्धनमा भागबन्डा मिलाउनका लागि उनले बिहानको शपथग्रहण बेलुकाका लागि सारेका हुन् ।

मन्त्रालय टुंगो लगाउने विषयले शपथग्रहण कार्यक्रमको समय सरेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

यसअघि बिनाविभागीय मन्त्री बनाउने गठबन्धनको निर्णय भए पनि आज मन्त्रालय नै टुंगो लगाएर जाने भन्ने कुरा आएपछि सपथको समय सारिएको उनको भनाई छ । कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले गठबन्धनको बैठक बसेर यसलाई फाइनल गरिने बताए ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मङ्गलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

यसअघि सभामुखको हैसियतमा छुट्टै हस्ताक्षर लिएर सरकारको दाबी गरेर नियुक्त भएका थापालाई नियुक्ति प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालते मुख्यमन्त्री नियुक्त भएको २२ दिनमै बर्खास्त गरेको थियो ।