NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २६ गते

एनएलआइसीका अभिकर्तालाई सम्मानै सम्मान, घाँटीमा पदक, हातमा नगद

तीन दिवसीय अवार्ड कार्यक्रम सम्पन्न, १३१ लाई सम्मान, १०६ लाई पदक

काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले देशभरका उत्कृष्ट अभिकर्तालाई सम्मान गरेको छ । चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा साउन १७ देखि १९ गतेसम्म चलेको तीन दिवसीय लिडरसिप एक्सिलेन्स अवार्ड, २०२३ कार्यक्रममा देशभरका उत्कृष्ट अभिकर्तालाई नेपाल लाइफले सम्मान गरेको हो ।

नेपाल लाइफ इन्सुरेन्सका अनुसार, एजेन्सी मेनेजरतर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोडतर्फबाट उत्कृष्ट ८१ अभिकर्ता सम्मानित भएका छन् । त्यस्तै, २० जनालाई सम्राट पदक, २३ जनालाई रत्न पदक र ६३ जनालाई समृद्धि पदकबाट विभूषित गरिएको छ । एजेन्सी मेनेजरतर्फबाट क्रमशः वसन्ती शर्मा, मदन भट्ट र स्नेहा भट्ट तथा व्यक्तिगत कोडतर्फ खुशी भट्ट, शान्ता राजवंशी, भीमा पन्थी प्रथम, द्वितीय र तृतीय बन्न सफल भए । उनीहरूलाई अवार्डको साथै नगद पुरस्कारबाट सम्मानित गरिएको नेपाल लाइफ इन्सुरेन्सले जनाएको छ ।

“सार्क वर्ष : पराक्रमी गति, आक्रामक नीति” नाराका साथ सम्पन्न अवार्ड कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको बताए । सबै सहयात्रीको लगन र परिश्रमले सफलता मिलेको उल्लेख गर्दै उनले धन्यवाद ज्ञापन गरे ।

जीवन बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको स्थापित ब्रान्ड नेपाल लाइफ इन्सुरेन्समा जोडिन पाउनु सबैको हर्षको विषय रहेको उल्लेख गर्दै उनले पराक्रमी गति आक्रामक नीति नारासहित सार्क वर्षको अवधारणालाई आत्मसाथ गर्दै कम्पनी अघि बढेको देख्दा मन प्रफुल्लित भएको बताए ।

‘जसरी सार्कले समुन्द्रमा आधिपत्व कायम गरेको हुन्छ त्यसैगरी नेपाल लाइफले जीवन बीमा क्षेत्रमा आधिपत्व कायम गर्नेमा विश्वस्त छु,’ उनले भने । ग्राहकको सहजताका निम्ति नवीनतम् प्रविधिको अधिकतम प्रयोग, लगानीको उच्च प्रतिफलका लागि लगानीको विविधीकरण गर्ने कार्यहरू शुभारम्भ भइसकेको जानकारी पनि उनले उक्त अवसरमा दिए ।

सञ्चालक विमलप्रसाद ढकालले कम्पनीका बीमा अभिकर्ताहरूले बीमालाई नेपालीको घरदैलोमा पु-याउन गर्नुभएको योगदानका निम्ति धन्यवाद ज्ञापन गरे ।

आव २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्दै सम्मानित बीमा अभिकर्ताहरुलाई बधाई दिँदै उनले सफलताको शुभकामना दिए । व्यवसाय गर्दा नियमनकारी निकायद्वारा जारी गरिएका नीति-नियमको अधीनमा रहन पनि उनले सचेत गराए ।  नेपाल लाइफ इन्सुरेन्सले आगामी दिनमा नवीनतम प्रविधिको प्रयोग गरी अघि बढ्ने जानकारी दिँदै उनले एएमएल र सिएफटीको महत्त्व र अपरिहार्यताबारे प्रकाश पारे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित अभिकर्तालाई बधाई तथा शुभकामना दिँदै चालु आर्थिक वर्षको व्यापार लक्ष्य पूरा गर्नेतर्फ केन्द्रित हुन आह्वान गरे । गत आर्थिक वर्षको व्यापारको समीक्षा गर्दै उनले चालु आर्थिक वर्ष ०८०/८१ मा सेल्स रणनीतिबारे जानकारी गराएका थिए ।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्तालाई नेपाल लाइफको मेरुदण्ड भएको बताउँदै  उनीहरूकै अथक मिहिनत र परिश्रमका कारण कम्पनी सफल भएको बताए ।  आगामी दिनमा पनि थप सबल र सक्षम भएर बजारमा प्रस्तुत हुने विश्वास उनले व्यक्त गरे ।

कम्पनीका वरिष्ठ सञ्चालक विमल ढकाल, प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा उद्घाटन गरेको कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १३० भन्दा बढी एजेन्सी तथा एजेन्सी मेनेजरको सहभागिता थियो ।

 

ताजा अपडेट

नेपालवाच विशेष