कागबेनी बाढी : पूर्वसूचनाले जोगायो ज्यान, २९ घरमा पूर्ण क्षति

ढोरपाटन । आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैँझैँ कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै । एक्कासी बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो । एकैछिनमा बजारका सबै स्थानीय बजारभन्दा माथि सुरक्षित स्थानमा निस्किए ।
माथिपट्टि निस्किएको केही मिनेटमै कागबेनी बजारमा बाढी पस्यो, बाढीले हर्दाहेर्दै बजारलाई बगरमा परिणत बनायो । स्थानीय आफ्नो भएभरको सम्पत्ति आँखैअगाडि बाढीमा परेको देख्न विवश भए । केहीले लत्ताकपडा, सुन तथा गरगहना निकाल्न भ्याए भने धेरैले सामान्य लत्ताकपडा पनि निकल्न पाएनन् ।
बाढीले घर र सम्पत्ति बगाइदिएपछि कागबेनीका सयौँ नागरिक घरबारविहीन बनेका छन् । कागखोलामा करिब दुई घन्टा आएको बाढीले हेर्दाहेर्दै बजारलाई कालीगण्डकीमा मिसाएको स्थानीय धावा दोर्जे गुरुङले सुनाए । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका वडा सदस्यसमेत रहेका गुरुङले बाढीमा कुनै पनि मानवीय क्षति नभएको जनाउँदै भौतिक सम्पत्ति ध्वस्त बनेको बताए । यो बाढी अहिलेसम्मकै ठूलो भएको र क्षति पनि धेरै पुर्याएको उनले बताए । माथिल्लो क्षेत्रबाट बाढी आएको खबर नभएको भए यहाँका सयौँ मानिस बाढीमा पुरिन सक्ने उनले बताए ।
‘दिनभरि काम गरेर साँझ खाना पकाउँदै थियौँ, एक्कासी मुक्तिनाथबाट कागखोलामा बाढी आयो भनेर आफन्तको फोन आयो, पकाउँदै गरेको खाना त्यत्तिकै छाडेर वरपरका छरछिमेकलाई हारगुहार गर्दै बस्तीभन्दा माथि पुग्यौँ, हेर्दाहेर्दै कागखोलामा आएको बाढी कागबेनी बजारमा बस्यो,’ उनले भने “एकै छिनमा सबै घर बगरमा परिणत भए, धन्न ज्यान बाँच्यो, मुक्तिनाथ क्षेत्रबाट धेरैले फोन गरेर बाढी आएको जानकारी गराइदिनुभयो र हामी बाँच्यौँ, नत्र सबै बाढीमा परिने रैछ ।’
बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङले बाढीपीडितलाई सुरक्षित स्थानमा सारिएको बताए । उनका अनुसार बाढीले २९ घर बगरमा परिणत भएका छन् । तेह्र घरमा आंशिक क्षति भएको अध्यक्ष गुरुङको भनाइ छ । आंशिक क्षति भएका घरको पहिलो तलासम्म बाढी पसेको उनले बताए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा उद्धारकार्यलाई जारी राखेको उनको भनाइ छ ।
सोमबार रातिसम्मको विवरणअनुसार चारपाङ्ग्रे दुईवटा सवारी, मोटरसाइकल ३०, एउटा पक्की मोटरेबल पुल, तीन काठेपुल बाढीले बगाएको उनको भनाइ छ । बाढीले प्रभु बैंकको घर नै बगाएको छ भने जनशान्ति माध्यमिक विद्यालयमा पनि क्षति पुगेको अध्यक्ष गुरुङले जानकारी दिए। मर्धशाला, गुम्बालगायतका संरचना पनि बाढीमा परेको उनी बताउँछन् । उनका अनुसार करिब २०–२५ वटा पशुचौपाया पनि पुरिएको आँकलन गरिएको छ ।
कागबेनीमा जिल्ला बाहिरबाट सडक तथा विभिन्न ठाउँमा काम गर्ने ६० मजदुरको उद्धार गरी जोमसोम सामुदायिक हलमा स्थानान्तरण गरिएको अध्यक्ष गुरुङको भनाइ छ । बाढीपीडितलाई अहिले आफन्तकहाँ राखिएको भन्दै नेपाल सरकारको नीति नियमानुसार राहत सहायता दिने उनी बताउँछन् । तत्कालका लागि गाँसबास, कपासको व्यवस्था गाउँपालिकाले गर्ने उनले बताए ।
‘अप्रत्यासित घटना भयो, बजारका घर देखिसक्नु छैनन्, धेरै घर बाढीले बगायो, बाढीले क्षति पुर्याएका घर पनि भत्किरहेका छन्, अहिलेसम्म मानवीय क्षति भएको पाइएको छैन, भौतिक क्षतिको त धेरै भएको छ, अहिले भर्खरै मूल्याङ्कन गर्न सक्ने अवस्था छैन, बाढीपीडितलाई अहिले अग्लो स्थानमा सुरक्षितरूपमा राखेका छौँ’, अध्यक्ष गुरुङले भने, ‘यहाँ धेरै कामदार पनि बस्थे, उनीहरूलाई घरपझोङ गाउँपालिकाले खाना बस्नको व्यवस्था गर्ने गरी जोमसोम सारिएको छ ।’
बाढी कागखोलाको सहायक तिरीखोलामा पहिरो आएर थुनिएको आँकलन गरिएको छ । मुक्तिनाथबाट सुरु हुने कागखोला कागबेनीमा आएर कालीगण्डकीमा मिसिन्छ । बाढीले पोल बगाउँदा विद्युत् अवरुद्ध भएको सहायक जिल्ला अधिकारी चन्द्रकान्ता बस्नेतले जानकारी दिए । खानेपानीको पाइपलाइन पनि बगाउँदा खानेपानी अभाव भएको उनको भनाइ छ । विद्युत् र खानेपानी सञ्चालनका लागि काम सुरु भएको उनी बताउँछन् । बाढीले पुल बगाउँदा उपल्लो मुस्ताङसम्मको यातायात ठप्प छ भने मान्छे हिँड्नका लागि अस्थायी काठको पुल निर्माण गरिएको उनले जानकारी दिए। अहिले बाढी रोकिए पनि स्थानीय त्रसित छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, ‘बाढीले बिजुलीका पोल र पाइप लाइन पनि बगाएको छ, त्यसलाई तत्काल सञ्चालनमा ल्याउनका लागि विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेर काम सुरु भएको छ, उपल्लो मुस्ताङ जाने सडक त ठप्पै भएको छ, अहिले भर्खरै यो सडक खुलाउन सक्ने अवस्था पनि कम छ, विस्तारै यातायात सञ्चालनका लागि प्रयास गर्छौँ ।’ वर्षा रोकिएको भए पनि कागबेनीवासी कागखोला हेर्दै झस्किने गरेका छन् । प्रशासनले तटीय क्षेत्रका बस्तीलाई सजगता अपनाउन आग्रह गरेको छ ।
२९ घरमा पूर्ण क्षति
कागबेनीको बाढीले पुर्याएको भौतिक संरचनाको प्रारम्भिक विवरण सङ्कलन र प्रभावितको व्यवस्थापन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, प्रशासन कार्यालय, सुरक्षा निकाय र गाउँपालिकाले आइतबार राति आएको बाढीले पुर्याएको भौतिक संरचनाको क्षति विवरण सङ्कलन र घरवास गुमाएकालाई सुरक्षित ठाउँमा व्यवस्थापन गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष रिनजिङ गुरुङले २९ वटा घर र नौ वटा गोठमा बाढीले पूर्णरूपमा क्षति गरेको जानकारी दिए। ‘पूर्ण क्षति भएको घर बाढीले बगाउने र लडाउने गरेको छ । बस्नै नमिल्ने बनाएको छ’, उनले भने, ‘१३ वटा घरभित्र बाढी पसेर आंशिक क्षति गरेको छ । गोठका गाईवस्तु बाढीमा पुरिएका छन् ।’
गाउँपालिकाको केन्द्र र धार्मिकस्थल रहेको कागबेनीमा तिरिखोला थुनिएर कागखोलामा आएको बाढी आइतबार राति ८ बजेको समयमा बस्तीभित्र पसेको थियो ।
गाउँपालिकाका अध्यक्ष रिनजिङ गुरुङले २९ वटा घर र नौ वटा गोठमा बाढीले पूर्णरूपमा क्षति गरेको जानकारी दिए । ‘पूर्ण क्षति भएको घर बाढीले बगाउने र लडाउने गरेको छ । बस्नै नमिल्ने बनाएको छ’, उनले भने, ‘१३ वटा घरभित्र बाढी पसेर आंशिक क्षति गरेको छ । गोठका गाईवस्तु बाढीमा पुरिएका छन् ।’
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया