NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

विदेशबाट फर्केर आरनमा रमाउँदै राजकुमार

भरतपुर । नयाँपुस्ता आरन पेशाप्रति आकर्षित देखिँदैनन् ।परम्परागत पेसा छाडेर युवा विदेशिनेक्रम बढ्दो क्रममा गल्छीका राजकुमार सुनार भने यही पेसामा रमाइरहेका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ बजारमा राजकुमार दैनिकजसो फलामका सामग्री बनाएको अवस्थामा भेटिन्छन् ।

पृथ्वीराजमार्गबाट करिब ५० मिटर माथि जस्तापाताले बार छाएको एउटा सानो छाप्रोमा ४१ वर्षीय उनले आफ्नो भविष्य यही पेसामा खोजेका हुन् । “आगोको रापमा बसेर काम गर्न सजिलो छैन ।

कमाई पनि त्यति राम्रो हुँदैन”, पसिना पुछ्दै राजकुमार भन्छन्, “मासिक रु ४० हजारको हाराहारीमा कमाई हुन्छ ।” उनी हँसिया, खुर्पा, कोदालो, खुकुरी, दाउलगायत बनाउने गर्छन् । राजकुमारका ग्राहक चितवन, धादिङ, गोरखा तनहुँसम्मका छन् ।

नयाँ सामग्री बनाएर गाउँ लगेर बेच्ने उन िहँसिया अर्जापेको रु एकसय, कोदालीको रु ७० लिन्छन् । नयाँ हँसियालाई रु चार सय देखि रु पाँच सयसम्ममा बेच्ने गरेको राजकुमार सुनाउन्छन् ।

मेहनतले उचित सम्मान र मूल्य नपाउँदा पनि यो पेसामा आकर्षण विस्तारै घट्दै गएको उनी बताउन्छन् । “पुख्र्यौली पेसालाई आधुनिक ढङ्गले व्यावसायिकरूपमा अझै अघि बढेको देखिँदैन । आगोको तातो रापमा बस्न कठिन छ ।

धेरैले यो व्यवसाय गर्दैनन्”, उनी भन्छन्, “कमाई पनि भनेजस्तो छैन राजकुमारलाई अहिले छोराले सहयोग गरिरहेका छन् ।”

राजकुमारले आरन व्यवसाय थालेको जम्मा पाँच वर्ष पुग्यो । आरन व्यवसाय सुरु गर्नुभन्दा पहिले उनले साउदीमा तीन वर्ष बिताए । “साउदीमा राम्रै कमाई थियो । स्वदेशमै केही उद्देश्यका साथ फर्किए”, राजकुमार भन्छन्, “चुनौतीकाबीच आरन पेसा अँगालेको छु ।”

उनले १० वर्ष काठमाडौँमा फलामका सामग्री बनाउने कम्पनीमा काम गरेका थिए । त्यहाँ राम्रो कमाई नभएपछि फिस्लिङ आएर आरन व्यवसाय गर्न थालेका हुन् । “सानैदेखि मैले यो पेसा जानेको होइन । दस वर्ष काठमाडौँमा बस्दा सिकेँ ।

बढी काम गर्नुपर्ने, पैसा पनि धेरै भएन”, उनी भन्छन्, “बरु आफ्नै व्यवसाय सुरु गर्छु भनेर यता लागेँ ।” यसबाट परिवार पाल्न सकेकामा सन्तुष्ट नै रहेको राजकुमार बताउन्छन् ।

गाउँघरमा कोइला पाउन मुश्किल छ । बाहिरबाट ल्याउँदा कोइलाको मूल्य बढी लाग्ने उनी बताउन्छन् । फलामको मूल्य बढ्दा पहिलेजस्तो घरेलु औजारको बिक्रीवितरण हुन छाडेको छ, खेती किसानी गर्ने मानिस पनि घट्दै गएकाले विगतमा जस्तो व्यापार नभएको राजकुमारको गुनासो छ । परम्परागत पेसालाई यहाँ युवापुस्ताले आधुनिकीकरण गरेको भेटिँदैन ।

यसका लागि ठूलो लगानी लाग्ने हुँदा राज्यले सहयोग गर्नुपर्नेमा उनी जोड दिन्छन् ।