प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदै

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी शुक्रबारदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको भ्रमण गर्न लागेका हुन् ।
प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी डा. आरजु राणा देउवा पनि रहनेछिन् । प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेपाल सरकारका अन्य वरिष्ठ मन्त्री, सचिव र अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणले नेपाल र भारतबीचको बहुआयामिक, सदियौँ पुरानो र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास उक्त मन्त्रालयले व्यक्त गरेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतका उपराष्ट्रपति एवं वेंकैया नायडूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले चैत १९ गते हैदरावाद हाउसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । भारतका प्रधानमन्त्रीले प्रधानमन्त्री देउवा र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवा भोजको आयोजना गर्ने कार्यक्रम छ ।
त्यसैगरी, प्रधानमन्त्री देउवासँग विदेशमन्त्री एस जयशङ्कर तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार शिष्टाचार भेट गर्नेछन् । नयाँदिल्लीमा रहँदा प्रधानमन्त्री देउवाले व्यापारी समुदायको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । चैत २० गते काठमाडौँ फर्कनुअघि प्रधानमन्त्रीले वाराणसीको पनि भ्रमण गर्नेछन् ।
गत असारमा वर्तमान सरकारको नेतृत्व लिएपछि प्रधानमन्त्रीबाट हुन लागेको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो । भारत र नेपालबीच शताब्दीऔँ पुरानो विशेष मित्रता एवं सहयोगको सम्बन्ध रहेको छ ।
हालका वर्षमा आपसी साझेदारीले सहयोगका सबै क्षेत्रमा उल्लेखनीय वृद्धि देखाएको छ । यो भ्रमणबाट दुई पक्षबीचको घनिभूत सहकार्य र साझेदारीलाई थप सघन तुल्याउन तथा दुई देशका जनताको हितका विषयलाई अगाडि बढाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया