NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३१ गते

बालबालिकामा ‘राधाकृष्ण ’बन्ने रहर

टीकापुर । कैलालीको जोशीपुरका लक्ष्मी पाण्डेकी छोरी अहिले १४ वर्षकी भइन् । हरेक वर्ष कृष्ण जन्माष्टमीमा राधा बन्दै गरेकी पाण्डेकी छोरीले यसवर्ष पनि रहर गरिन् ।

परिवारका सदस्यलाई पोसाक किनिदिन जिद्दी गरिन् । छोरीका लागि पोसाक खरिद गर्न बजार हिँडे्का पाण्डेले एक वर्षको हुँदादेखि छोरीलाई राधा बनाउने गरेको बताइन् ।

‘सानी हुँदा हामीले रहर ग-यौँ, अहिले ठूली भएपछि छोरीले रहर गर्न थालेकी छिन्’, पाण्डेले भनिन् ‘अब ठूली भइन, यसपटक हाम्रो रहर थिएन, तर छोरीले जिद्दी गरेपछि कपडा किन्नुप-यो ।’टीकापुरकी सिर्जना थापाका दुई छोराछोरीले पनि आज राधाकृष्ण बन्नका लागि मंगबलबार पोसाक किनिसकेका छन् ।

सिर्जनाका छोराछोरी पनि जन्माष्टमीमा राधा कृष्णको पोसाक लगाउने, बालगोपालले गर्ने क्रियाकलाप गरेर घरमा रमाइलो गर्ने गर्दछन् । पछिल्लो समय विद्यालयमा पनि जन्माष्टमीको अवसरमा साना बालबालिकालाई बालगोलाप तथा राधाको पोसाक लगाएर संस्कृति तथा परम्परा चिनाउने गरिन्छ ।

बालबालिकालाई भगवान कृष्णको जीवनी पढाउँदै यो पर्वमा गरिने हरेक क्रियाकलाप गरेर रमाइलो गर्ने चलन रहेको शिक्षक पूर्ण विक बताउँछन् । ‘पछिल्लो समय हरेक विद्यालयमा कार्यक्रम हुन थालेका छन्, यो समयमा धार्मिकसँगै सांस्कृतिक कार्यक्रम, मट्का फोड कार्यक्रम गर्ने गरिन्छ’, उनी भन्छन् ‘विद्यालयमा हरेक पर्व मनाउने अभ्यास थालिएको छ । यसले बालबालिकालाई पनि सिकाइ हुन्छ ।’

सनातन संस्कृति प्रतिष्ठान नेपाल टीकापुरका अध्यक्ष नारायणप्रसाद तिमिल्सिना बालगोपालका आनीबानीमा प्रेरित भएर बालबालिका पनि यसमा रमाउने गरेको पाइएको बताउँछन् ।

‘बाललिला, दही चोर लीला अनुकरण गर्ने र आस्था प्रकट गरिन्छ, भगवान कृष्णको लीलालाई दोहो-याएर बालबालिकाले कृष्ण, राधा बन्ने, सामूहिक रुपमा मट्का फोड्ने काम गरेको पाइन्छ’, उनी भन्छन, ‘यसले आत्मियता, सामूहिक कार्य गर्ने भावनाको विकास हुन्छ । एकआपसमा सद्भाव बढाउन सघाउँछ ।’

उनका अनुसार सामान्यतया पर्व आस्था प्रकट गर्न, एक अर्कामा सद्भाव र मायाप्रेम साट्न, संस्कृति जोगाउन गरिन्छन् । ‘पर्वमा देखिएका उत्ताउलापन रोक्नुपर्छ । पर्वकोस्वरुप विकृत गर्नु हुँदैन’,उनीभन्छन्, ‘हरेक पर्व क्षमता हेरे मनाउनुपर्छ । पर्वको स्वरुप विकृत भएमा समाज पनि विकृत हुन्छ ।’

ताजा अपडेट

नेपालवाच विशेष