ओलीले राप्रपाका महामन्त्री भेटे, चुनावी तालमेलबारे छलफल
काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवलशमशेर राणाबीच डेढ घण्टा भेटवार्ता भएको छ ।
नेपालगञ्जको स्नेहा होटलमा बिहीबार राति ओली र राणाबीच डेढ घण्टा लामो भेटवार्ता भएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने तयारीस्वरूप भेटवार्ता भएको हो ।
‘गठबन्धन दलहरूले मोर्चाबन्दी बनाएर चुनावमा भाग लिने निर्णय गरेका छन् । विपक्षी दलहरूबीच पनि तालमेल गरेर चुनावमा भाग लिने विषयमा महामन्त्री र ओलीबीच भेटवार्ता भएको हो,’ उनले नेपालवाचसँग भने, ‘भेटवार्ता धेरै राम्रो भएको छ । अब छिट्टै हाम्रा अध्यक्षज्यू र एमाले अध्यक्षज्यूबीच भेटवार्ताको लागि राम्रो वातावरण तय भएको छ ।’
एमालेसँग चुनावी तालमेलमात्र नभई आगामी दिनमा राष्ट्रिय राजनीति र राष्ट्रियताको विषयमा कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे छलफल भएको श्रेष्ठले बताए । नेपालगञ्ज उपमहानगरपालिका मेयरसमेत रहेका राणा र ओलीबीचको गोप्य भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । ओली चुनावी अभियानअन्तर्गत बिहीबार कर्णाली प्रदेश पुगेका थिए । कार्यक्रम सकिएपछि उनी नेपालगञ्जको स्नेहा होटलमा बास बस्ने क्रममा दुई नेताबीच भेटवार्ता भएको श्रेष्ठले जानकारी दिए ।
मंसिरमा भएको राप्रपाको अध्यक्षमा कमल थापालाई पराजित गरी राजेन्द्र लिङ्देन निर्वाचित भएपछि राप्रपातर्फ धेरैको ध्यान आकृष्ट भएको छ । एमालेले पनि पार्टी विभाजनको क्षतिपूर्तिसहित आगामी चुनावबाट पहिलो शक्तिमा आउने दौडमा रहेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकले चुनावी तयारीका लागि स्थानीय तहसम्म संयन्त्र बनाउने निर्णय गरेको थियो ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया