NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३१ गते

कारागारमा दसैँ : ‘जहाँ बस्यो त्यही रमाइलो’

चितवन । बडादसैँ घर-घरमा हर्षोल्लासका साथ आउँदै गर्दा कारागारमा बन्दी जीवन बिताइरहेकाहरू त्यही घर सम्झेर दसैँ मनाउँदै छन् । कैदीबन्दीले जहाँ बस्यो त्यही रमाइलो हुने भन्दै सबै मिलेर दसैँ मनाउने बताएका छन् ।

कैद जीवन बिताउँदै आएका कैदीबन्दी विगतका वर्षमा जस्तै यस वर्ष पनि दसैँ मनाउने तयारीमा जुटेका छन् । दसैँ सुरु भएसँगै विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरिरहेका छन् । कतिपय कैदी नयाँ हुन् भने अधिकांश पुराना छन् ।

हेटौँडाकी शर्मिला शर्माले (नाम परिवर्तन) घरगाउँको दसैँको सम्झनासमेत हुन छाडेको बताइन् । उनले भनिन्, ‘ जहाँ बस्यो त्यही रमाउने हो ।’ घरगाउँको जस्तो नभए पनि यहाँ छुट्टै रमाइलो हुने गरेको उनले बताइन् ।

‘चाडपर्वमा परिवारसँग बस्न पाइएन भन्ने हो । विगत आठ वर्षदेखि चाडपर्व कारागारमै मनाइरहेका छौँ’, शर्माले भनिन्, ‘परिवारका सदस्यले कहिलेकाँही टीका लगाइदिन आउने गर्नुहुन्छ । कहिलेकाहीँ परिवारको याद निकै आउँछ ।’ कोही त भेटघाटमा आए पनि परिवार सम्झेर चाडपर्वमा रुने गरेको उनले सुनाइन् ।

भरतपुर महानगरपालिकाका रमेश विश्वकर्मा (नाम परिवर्तन) लाई चाडपर्वको समयमा परिवारको यादले सताउने गरेको छ । सुरुआती दिनमा त निन्द्रासमेत नलागेको भए पनि अहिले बानी परिसकेको उनको भनाइ थियो । चाडपर्वको महत्व कारागारले बुझाएको बताउँदै उनले कारागारमा बसेर दशैं मनाउनु पर्दा निकै दुःख लाग्ने गरेको बताए।

विगत १५ वर्षदेखि हरेक पर्वलाई कारागारमा मनाउने गरेको भन्दै विश्वकर्माले आफूहरू जहाँ बस्यो त्यसलाई घर सम्झेर रमाइलो गर्ने गरेको अनुभव सुनाउनुभयो । कारागारभित्रै उत्साहका साथ दसैँ मनाउने गरेको उनले बताए ।

विगत चार वर्षदेखि कारागार जीवन बिताइरहेका हरि शर्मा (नाम परिवर्तन) लाई पनि चाडपर्वमा परिवारका सदस्य आएर टीका लगाइदिँदा निकै नरमाइलो लाग्ने गरेको बताए। गाउँघरमा बसेर परिवारका साथ दसैं मनाउन पाउँदा निकै रमाइलो हुने गरेको भन्दै अहिले कारागारमा नै रमाइलो गर्न थालेको उहाँको भनाइ थियो ।

शर्माले भनिन्, ‘अब हाम्रा लागि कारागार नै घर हो । यही रमाइलो गरेर दसैँ मनाउने हो ।’ यहाँ चाडपर्वको समयमा हुने गरेका विभिन्न प्रतियोगिताले बाहिरको झल्को मेटाउने गरेको उनको भनाइ थियो ।

दसैँलाई लक्षित गरेर कारागारभित्र खेलकुद, विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना भइरहेको कारागारका प्रमुख (जेलर) कमलप्रसाद आचार्यले बताए । विगतमा जस्तै गरी यस वर्ष पनि कैदीबन्दीको तर्फबाट खसी, राँगा ल्याउने, मौलो पूजा गर्नेलगायत काम सुरु भइसकेको उनले जानकारी दिए।

‘टीकाको दिन सामूहिक टीका ग्रहण, टीकाअगाडि सामूहिक भोजजस्ता कार्य हुने गरेको छ’, आचार्यले भने, ‘दसैँमा कडा सुरक्षाका साथ परिवारसँग टीका लगाउन दिने गरी तयारी गरेका छौँ । टीकाको दिनदेखि पूर्णिमाको दिनसम्म टीका ग्रहणका लागि समय दिने छौँ ।’

उनका अनुसार कारागार कार्यालय चितवनमा अहिले सात सय २९ कैदीबन्दी छन् । जसमध्ये ४४ महिला र पाँचजना बालबालिका छन् भने बाँकी पुरुष छन् । पाँच सय पाँच जनाको क्षमता रहेको उक्त कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका आचार्यले बताए । उनका अनुसार यो हिन्दूहरूको महान् पर्व भए पनि सबै धर्म समुदायले आ–आफ्नो हिसाबले मनाउने गर्दछन् ।