NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३१ गते

ज्यादुलखोलामा ‘डाइभर्सन पुल’ 

गोरखा । बेनीघाट–आरुघाट सडकखण्डअन्तर्गत पर्ने गोरखाको भीमसेन थापा गाउँपालिका–७, र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुलखोलामा ‘डाइभर्सन पुल’ बनेपछि त्यस क्षेत्रका बासिन्दाको वर्षौंदेखिको सास्ती हटेको छ ।

बर्खाका बेला खोलामा पानीको बहाव बढेपछि ओहोरदोहोर नै बन्द हुने ज्यादुल खोलामा डाइभर्सन पुल निर्माण भए पनि निर्धक्क भएर आउआउ गर्न सजिलो भएको भन्दै स्थानीयवासी खुसी भएका छन् । पुल निर्माण नहुँदा बर्खाका बेलामा सवारी साधनसमेत वारपार गर्न नसक्दा यात्रुले निक्कै हैरानी खेप्दै आएका थिए ।

‘बर्खा लागेपछि अत्याश्यक सवारी साधनसमेत चलाउन कठिनाइ थियो’, स्थानीयवासी जीवन कुमालले भने, ‘बर्खामा काठमाडौँ चितवन जान लागेको बस पानी नघट्दासम्म खोलाको किनारामा दुई तीनसम्म पानी कहिले घट्ला भनेर किनारामै पर्खनुपर्ने बाध्यता थियो, पुल बनेपछि अहिले पुल बनेपछि सहज भएको छ ।’ त्यस क्षेत्रका बासिन्दाले लामो सयमदेखि ज्यादुल खोलामा पुल निर्माणको माग गर्दै आएका थिए ।

डाइभर्सन पुलले आरुघाटदेखि भीमसेन थापा गाउँपालिकाको क्यामुन्टार, पिपलटार, सिमलटार, महादेवटारलगायतका क्षेत्रका बासिन्दालाई थप सजिलो भएको उनको भनाइ छ । एक हजार दुई सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजनाको डुबान क्षेत्रमा पर्ने भएकाले मोटरेवल पुल निर्माणका लागि बजेट विनियोजन हुन नसकेपछि पक्की डाइभर्सन पुल निर्माण गरिएको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।

पुल बनेपछि अबदेखि बर्खाको समयमा समेत आरुघाट–बेनीघाट सडकखण्डमा चल्ने सवारी साधन निर्वाधरुपमा सञ्चालन हुने उनले बताए । प्रदेश सरकारको विनियोजन गरेको ३५ लाखका लागतमा ज्यादुल खोलामा डाइभर्सन पुल निर्माण सम्पन्न गरिएको वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेष्ठले बताए ।

‘खोलामा सातवटा ठूलाठूला हिम पाइप जडान गरी डाइभर्सन पुल निर्माण गरिएको हो’, उनले भने, ‘खोलामा पुल नहुँदा बर्खायाममा खेतबारीमा काम गर्न ओहोरदोहोर गर्नका लागि समेत स्थानीयवासीलाई कठिनाइ हुँदै आएको थियो अब सजिलो भएको छ ।’

उक्त पुल हुँदै घाटेबेँसीदेखि गोरखा सदरमुकाम, घाटेबेँसीदेखि बेनीघाट, काठमाडौँसम्म नियमित यात्रुबाहक बस तथा अन्य मालबाहक सवारी साधन चल्ने गर्दछ । बर्खाका बेला खोला बढेपछि वारिपारि गर्न खोला घट्नै पर्ने बाध्यता भोग्दै आएका स्थानीयवासी पुल निर्माण भएपछि खुसी भएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष