तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो
बर्दिया । तिहार नजिकिएसँगै बर्दियाका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो ।
मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले स्थानीय कामदार राखेर फूल टिप्ने गरेको गुलरिया नगरपालिका–३ स्थित खैरीमा व्यावसायिकरूपमा पुष्पखेती गर्दै आएकी पार्वती थारूले बताइन् ।
उनले भनिन्, ‘कस्तो हुन्छ भनेर गत वर्ष चार कठ्ठा जग्गामा फूलखेती गरेको राम्रो भएपछि यस वर्ष आफ्नै एक बिघा जग्गामा फूलखेती गरेको गएको वर्षमा भन्दा यसपालि फूलको माग बढी छ ।’ मागअनुसार बजारमा फूल पठाउन सकेको छैन, उत्पादन भएका फूल समयमै टिपेर माला उनेर स्थानीय बजारदेखि बाँके, दाङ, काठमाडौँसम्म पठाउने गरेको उनले सुनाइन् ।
बिरुवा लगाएको लगभग ८० देखि ९० दिनमै फूल बेच्न तयार हुन्छ । एक कठ्ठा जग्गामा एक क्विन्टलसम्म फूल उत्पादन हुने थारुको भनाइ छ । पछिल्लो समयमा बर्दियाको बारबर्दिया र राजापुरमा पनि केही किसानले फूलखेतीको सुरुआत गरेको थारूले जानकारी दिइन् ।
गत वर्ष फूल प्रतिकिलो रु एक हजारदेखि रु एक हजार दुई सयसम्म बजारमा बिक्री भएको थियो । आफूले गत वर्ष प्रतिकिलो रु पाँच सय ५० मा घरैबाट बिक्री गरेको थारूको भनाइ छ ।
बर्दियाका पुष्प व्यवसायीले अहिले तिहारका लागि मात्र नभएर विभिन्न भोजभतेर, सेमिनार, विवाहमा गाडी सजाउन मिल्ने बाह्र महिना उत्पादन हुने जातका सयपत्री, गोदावरी, जरवेरा फूलखेती गर्न थालेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया