दीपावलीको पहिलो दिन ‘धनतेरस’ आज मनाइँदै, के छ धार्मिक विश्वास ?
धनुषा । दीपावली (तिहार) पर्व आजदेखि सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज मिथिलामा ‘धनतेरस’ मनाइँदै छ ।
कात्तिक कृष्ण त्रयोदशीको रात पर्ने दिनलाई मिथिलामा ‘धनतेरस’ भनिन्छ । यस दिन नयाँ धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने मैथिल परम्परा छ । आज धातुका नयाँ सामान किन्न शुभ हुने मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता क्षीरेश्वरनाथ नगरपालिका–६ नयाँ टोल का इन्द्रकान्त झा बताउँछन्।
घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ । मिथिलामा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा तिथि, बार, नक्षत्र एवं चाडपर्वको छिनोफानो गरिन्छ । दुवै पञ्चाङ्गमा आज नै धनतेरस उल्लेख रहेको झाले बताए। कात्तिक कृष्ण त्रयोदशीकै दिन मनाइने धन्वन्तरी जयन्ती पनि आजै परेको छ ।
दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुसी पार्न यो पर्वको परम्परा चलेको मिथिला संस्कृतिका ज्ञाता बताउँछन् । मिथिला क्षेत्रमा ‘दिवाली’को पहिलो दिन नै बजारबाट किनेर ल्याइएको धातुका गहना वा भाँडालाई लक्ष्मीको प्रतिमा स्थापित गरिएका ठाउँमा पूजा गरेर यो पर्व विधिवत् सुरु गरिने परम्परा छ ।
सन्ध्याकालमा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दिवाली’ पर्व सुरु गरिन्छ । पर्व विशेषका कारण आज तामा, पित्तल र काँशका भाँडा पसल तथा सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भीडभाड रहन्छ । मिथिलामा आज किनिएको सामान शुभफल दिने, टिकाउ र नाफा दिने हुने जनविश्वास छ ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया