नारायणगढ-मुग्लिन सडक बन्द हुने समय परिवर्तन
चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन) ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो । तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक चार घण्टा सवारीसाधन रोकिएको छ ।
बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोक्ने भनिए पनि सो समय तालिका परिवर्तन गरिएको हो । परिवर्तित समयअनुसार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गरिने भएको छ । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउन सम्भव नभएपछि सवारीसाधन नै रोकेर काम गर्न लागिएको आयोजनाका सूचना अधिकारी ई कृष्ण आचार्यले जानकारी दिए ।
उनका अनुसार चितवन र तनहुँ तर्फका विभिन्न छ स्थानमा सवारीसाधन रोकिनेछ । नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छ भने मालबहाक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिनेछ । काठमाडौँबाट आउने यात्रुवाहक सवारीसाधन मुग्लिन बजारदेखि मनकामना केबलकारसम्म र मालवाहक सवारीसधान लेवाटारमा रोकिने उनले जानकारी दिए ।
यसैगरी पोखराबाट आउने यात्रुवाहक सवारी साधनलाई बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई सत्रसय फाँटमा रोकिनेछ । सूचना अधिकारी आचार्यका अनुसार पहिलो चरणमा तीन हप्ताका लागि सडक रोकेर भित्तो काटिनेछ । गत वर्ष भित्तो काटिए पनि कडा चट्टानका कारण काम कठिन भएकाले विस्फोट गराउनका लागि रोकिएको थियो ।
विस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनःएकपटक सडक रोकेर काट्ने तयारी गरिएको हो । राजधानी काठमाडौँबाट तराईको जिल्ला बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा रहेको यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् ।
चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले चार घण्टा सवारीसाधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । कार्यालयले चार घण्टासम्म रोकिएका सवारीसाधन पठाउन लामो समयसम्म ट्राफिक जाम हुनसक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोे प्रयोग गर्न अनुरोध गरेको हो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया